कम्पनको दोश्रो संस्करण न्युयोर्कबाट लोकार्पण


काठमाडौं – पत्रकार किशोर पन्थीबाट लिखित पुस्तक कम्पनको दोश्रो संस्करण न्युयोर्कबाट लोकार्पण गरिएको छ । न्युयोर्कको ज्याक्सन हाइटमा रहेको मुस्ताङ थकाली किचनमा आयोजित कार्यक्रममा पुस्तकको लोकार्पण गरिएको हो ।

नेपाल सरकारका महावाणिज्यदूत पुष्पराज भट्टराई, बरिष्ठ पत्रकार किशोर नेपाल, कम्पनका पात्र तथा सामाजिक अभियन्ता डाक्टर बिष्णुमाया परियार, नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य आनन्द बिष्ट, कानुनविद् तथा पुस्तकका पात्र खगेन्द्र जीसी र सामाजिक व्यक्तित्व डाक्टर विनोद शाहले पुस्तकको लोकार्पण गरे । न्युयोर्कमा रहेका नेपालीहरु र विभिन्न संघ संस्थाका व्यक्तित्वबीच पुस्तकको लोकार्पण गरिएको हो ।

पुस्तक लोकार्पणपछि महावाणिज्यदूत पुष्पराज भट्टराई, कानुनविद् खगेन्द्र जीसी र डाक्टर विनोद शाहले पुस्तक नेपालको महाभूकम्पकको ऐतिहासिक दस्तावेज भएको उल्लेख गर्दै पुस्तकका लेखकलाई शुभकामना दिए । कार्यक्रम महावाणिज्यदूत पुष्पराज भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

दुई चरणमा सम्पन्न कार्यक्रममा महाभूकम्पको असर र पुननिर्माणको अवस्थाबारे बहस समेत गरिएको थियो । पहिलो चरणको कार्यक्रमको सहजिकरण संचारकर्मी प्रदीप परियार थापाले गरेका थिए भने दोश्रो चरणको सहजिकरण संचारकर्मी सुरेश शाहीले गरेका थिए ।

कम्पनको पहिलो संस्करण गत बर्ष पूर्व प्रधानमन्त्रीहरु डाक्टर बाबुराम भट्टराई र माधवकुमार नेपाल लगायतले काठमाडौंमा आयोजित कार्यक्रमममा लोकार्पण गरिएको थियो भने विश्वब्यापी लोकार्पण मे ११ मा न्युयोर्कमा गरिएको थियो । पुस्तकको दोश्रो संस्करण नेपालमा दोश्रो ठूलो भूकम्प आएकै दिन न्युयोर्कमा लोकार्पण गरिएको थियो । नेपालको दोश्रो ठूलो भूकम्पमा डेढसय भन्दा धेरैको ज्यान गएको थियो ।

महाभूकम्पपछिको आर्तनाद र आशामा आधारित पुस्तकमा भूकम्पका पीडित, भूकम्पपछिको उद्दार र राहतमा खटिनेहरु, भूकम्पबाट बाँच्न सफल हुनेहरु लगायतका रोचक स्मरणहरु समेटिएको छ । दोश्रो संस्करणमा पहिलो संस्करणपछिका पुस्तकका समीक्षाहरु र भूकम्पको इतिहासलाई पनि समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement