कक्षा १२ लाई करिश्मा मानन्धरको गुडबाई


काठमाण्डु – अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ को परीक्षा सकेकी छन् । राष्ट्रिय परीक्षा बोर्डले ३० भदौदेखि कक्षा १२ को परीक्षा लिएको थियो । तालिकाअनुसार शुक्रबार कक्षा १२ को सबै परीक्षा सकिएको छ ।

परीक्षा सकिएपछि अभिनेत्री मानन्धरले ‘गुडबाई १२’ भन्दै सबैलाई ब्याचलर पढ्न शुभकामना दिएकी छन् । ललितपुरको टौखेलस्थित आफ्नै घर नजिकको किटनी माविमा करिश्माले पढ्दै आएकी थिइन् । उनले १२ कक्षाको परीक्षा पनि त्यहीँबाट दिएकी थिइन् ।

परीक्षा सकिएपछि उनले शुक्रबार आफ्ना सहपाठीसँग सामूहिक तस्बिर खिचाएर सबैलाई ब्याचलर अध्ययनका लागि शुभकामना पनि दिएकी छन् ।

परीक्षा सुरु हुनुअघि धेरै डराए पनि अहिले आफूलाई धेरै खुसी लागेको करिश्माले प्रतिक्रिया दिइन् । उनले परीक्षा राम्रो भएको जानकारी दिँदै भनिन्, ‘पहिले धेरै डर लागेको थियो । तर, अहिले म निकै खुसी छु ।’

उनले कक्षा १२ पास भएमा किटनी माविबाटै स्नातक अध्ययन गर्ने पनि जानकारी दिइन् । करिश्माले भनिन्, ‘सरकारी स्कुलमै पढ्छु । अन्तको कस्तो छ थाहा छैन, तर म पढेको स्कुलमा सबै राम्रो छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement