कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अख्तियार सन्त्रास


काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा कार्यरत सादा पोसाकका एक प्रहरी नायब निरीक्षकमा सुरुमा कोरोना संक्रमण देखिएपछि स्वाब संकलन सुरु भयो । उनी घुस प्रकरणमा ‘रंगे हात’ अपरेसनमा कार्यरत थिए । उनलाई एक्कासि असहज महसुस भएपछि पिसिआर परीक्षण भयो । परीक्षणमा उनलाई कोरोना देखिएपछि अख्तियारले सतर्कता अपनाएको हो ।

प्रहरी नायब निरीक्षकमा कोरोना देखिएपछि त्यहाँ कार्यरत अन्य सुरक्षाकर्मी र कर्मचारीको पनि कोरोना परीक्षण भएको थियो । राजधानीबाट बाहिरको जिल्ला नगएका ती प्रहरीमा कोरोना संक्रमण देखिएपछि अख्तियारले सुरक्षाकर्मीसहित कर्मचारीको पिसिआर परीक्षणको क्रममा सुरुमा १४ जना सुरक्षाकर्मी र एक सवारी चालकमा कोरोना संक्रमण देखिएको थियो ।

बिहीबार आएको रिपोर्टमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका थप २२ कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । आइतबार १ सय ८२ जनाको स्वाब संकलन गरिएकामा १० सुरक्षाकर्मी तथा एक जना ड्राइभरसहित ११ जना र मंगलबार ६२ जनाको परीक्षण गराउँदा २२ जनामा कोरोना संक्रमण देखिएको हो । त्यहाँ कार्यरत सुरक्षाकर्मी र कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सन्त्रास छाएको छ । कोरोना संक्रमणका कारण हाल अख्तियार सुनसान बनेको छ । हाल अत्यावश्यकबाहेकका कर्मचारी कार्यालय गएका छैनन् ।

अख्तियार कार्यालय बन्द भएपछि अत्यावश्यक कामबाहेक अन्य कर्मचारी, प्रमुख आयुक्त, आयुक्तहरू पनि कार्यालय गएका छैनन् । अख्तियारका आयुक्तहरूको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ । संक्रमणको जोखिम भएको भन्दै आयोगले आफ्ना सबै कर्मचारीलाई कोरोना भाइरसको परीक्षण गराएर मात्रै कार्यालय आउन निर्देशन दिएको छ । आयोगले गर्ने भ्रष्टाचारसम्बन्धी क्रियाकलापको स्टिङ अपरेसन, अनियमिततासँग जोडिएको घटनासँग सम्बन्धित फाइल अध्ययनसमेत बन्द भएको छ ।

संक्रमण देखिएका अधिकांश अग्रपंक्तिमा काम गर्ने कर्मचारी र सुरक्षाकर्मी छन् । यस्तै, अख्तियारका कर्मचारी र सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि विशेष अदालतले उच्च सतर्कता अपनाएको छ ।

अख्तियारबाट पेस हुने भ्रष्टाचारको मुद्दा दर्ता, पक्राउ परेका व्यक्तिको म्याद थप, बहस गर्नका लागि विशेष अदालतमा आउजाउ हुने भएकाले सो जोखिमलाई ख्याल गर्दैै १४ जनाको स्वाब परीक्षणका लागि पठाइएको विशेष अदालतका रजिस्ट्रार अशोककुमार क्षत्रीले जानकारी दिए ।यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement