कर्मचारीको तलब २५ प्रतिशतसम्म बढ्ने


काठमाण्डौं – नयाँ आर्थिक वर्षदेखि सरकारी कर्मचारीको तलब बढ्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०७६–७७ का लागि सरकारले ल्याउन लागेको नयाँ बजेटमा सरकारी कर्मचारीको तलब २५ प्रतिशतसम्म बढाउने तयारी भएको हो ।

निजामती कर्मचारीले हाल खाइपाइ आएका मासिक तलबमा १५ देखि २५ प्रतिशतसम्म बढाउने तयारी थालिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

त्यसका लागि मुख्य सचिवको संयोजकत्वमा रहने तलब पुनरावलोकन समितिले सिफारिस गर्ने भएको छ । कर्मचारीको तलब १५ देखि २५ प्रतिशतसम्म बढ्ने गरी आन्तरिक गृहकार्य र छलफल थालिएको पुनरावलोकन समितिका एक सदस्यले बताएका छन् ।

महँगीअनुसार कर्मचारीको तलब बढाउनुपर्ने कानुनी व्यवस्था छ । तर तीन वर्षदेखि सरकारले कर्मचारीको तलब बढाउन सकेको थिएन ।

यस्तै यसपटक वृद्धभत्ता पनि १ हजार बढाउने तयारी गरिएको अर्थ मन्त्रालयले जनाएको छ ।

संवैधानिक व्यवस्थाअनुसार आउने जेठ १५ गते संघीय सरकारले बजेट सार्वजनिक गर्दैछ । यसअघि सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement