मंसिर ४ गते डडेल्धुराबाट देउवाको विदाई निश्चित छ: कर्ण मल्ल (अन्तर्वार्ता)


काठमाण्डु – नेपाली कांग्रेस (बीपी)का वरिष्ठ उपसभापति कर्णबहादुर मल्ल डडेलधुराबाट प्रतिनिधिसभाकाे प्रत्यक्षतर्फ चुनावी मैदानमा उत्रिएका छन् । मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचन अन्तर्गत डडेल्धुरामा प्रधानमन्त्री समेत रहेका कांग्रेसका सभापति शेरबहादुर देउवासँग मल्लको भिडन्त हुने भएकाे छ।

नेपाली कांग्रेसमा रहेर निरन्तर चुनावमा देउवालाई सहयोग गर्दै आएका मल्ल यसवर्ष भने देउवाविरुद्ध चुनावी मैदानमा छन् । डडेल्धुरामा देउवाविरुद्ध चुनाव जित्न नेकपा एमालेले कर्ण मल्ललाई समर्थन गर्ने भएको छ । त्यसकारण पनि डडेल्धुरामा संघीय निर्वाचनलाई चासोका साथ हेरिएको छ ।

डडेल्धुरामा २०४७ सालदेखि निरन्तर देउवाले जित्दैँ आएका छन् । २०७४ सालको चुनावमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले चुनावी तालमेल गर्दा पनि देउवाले २८ हजार ४४ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका खगराज भट्टले २१ हजार ११५ मत ल्याएर पराजित भएका थिए ।

तर, यसपालि भने देउवालाई डडेल्धुरामा नेकपा माओवादी केन्द्रले सहयोग गर्ने भएको छ । त्यसकारण कर्ण मल्ललाई नेकपा एमालेले समर्थन गरेपनि चुनाव जित्न भने सहज छैन् । स्थानीय तहको निर्वाचनमा त्यहाँका सात वटा पालिका मध्ये पाँच कांग्रेसले जितेको छ भने दुई पालिकामा माओवादी विजयी भएको छ ।

मल्लले देउवालाई पराजित गर्न के कस्तो रणनीति अपनाइरहेका छन् ? के मंसिर ४ गते डडेल्धुराबाट देउवालाई विदाई गर्ने नेकपा एमाले र मल्लको रणनीति सफल होला ? प्रस्तुत छ यिनै विषयमा केन्द्रित रहेर कर्ण मल्लसँग काठमाण्डुपाटीका लागि टक खातीले गरेको कुराकानीको सम्पादित अंशः

०४७ सालदेखि डडेल्धुरावासीहरुले निरन्तर शेरबहादुर देउवालाई जिताए । तर डडेल्धुराको अवस्था फेरिएको छैन । अब तपाईँ संसदमा प्रवेश गर्नुभयाे भने डडेल्धुरालाई कस्तो बनाउनु हुन्छ ?

डडेल्धुराको सच्चा सेवकको रुपमा आफूलाई प्रमाणित गर्ने प्रयास गर्नेछु । यही प्रतिवद्धताका साथ निर्वाचनमा जाँदैछु । अर्कोतर्फ जुन समस्याकाबीच अहिले पनि डडेल्धुराका जनताहरू छन् । ती समस्याबाट मुक्त गर्ने मेरो मुख्य एजेन्डा हो । ति एजेण्डामा म लागि रहनेछु ।

स्थानीय तहको चुनावमा कांग्रेस बिपी र नेकपा एमालेले चुनावी तालमेल गरेको थियो । त्यसबेला कर्ण मल्लले साथ नदिएपछि कांग्रेस डडेल्धुरामा कमजोर बन्यो भनेर चर्चा पनि चल्यो । तर चुनावको नतिजाले त कांग्रेस डडेल्धुरामा झन बलियो भएको छ । तपाईंले कांग्रेस परित्याग गरेपछि डडेल्धुरामा कांग्रेस झन शक्तिशाली बनेकै हो ?

अब जुन प्राविधिक हिसाबले तपाईंले स्थानीय तहको निर्वाचनको कुरा गर्नुभयो, त्यसबारे म त्यति केही बोल्दिनँ । अब आउने निर्वाचनमा भने चमत्कारी ढंगले यहाँका बासिन्दाहरूले भोट हाल्नेछन् भन्नेमा ढुक्क छु ।

जुन अहिलेसम्म आफूले भोट दिएको मान्छेबाट अपमानित हुनुपर्यो । फेरि अब त्यो दिन आउनेछैन । यहाँका ९२ हजार मतदाता अब परिवर्तनको लागि आतुर भएका छन् । त्यसकारण अब यहाँका ९२ हजार मतदाताले मलाई जिताउने छन् ।

संघीय चुनावमा पनि नेकपा एमालेले तपाईँलाई सहयोग गर्ने भएको छ । अर्कोतीर देउवासँग हार्ने पक्कापक्की भएपछि नेकपा एमालेले आफ्नो उम्मेदवारी फिर्ता गरेर कर्ण मल्ललाई समर्थन गर्ने निर्णयमा पुग्यो भन्ने पनि बहस चलेको छ । यसमा तपाईंको भनाइ के छ ?

अब आ-आफ्ना दृष्टिकोण हुन्छन् । तर देउवासँग हार्ने डरले डडेल्धुरामा नेकपा एमालेले कर्ण मल्ललाई समर्थन गर्न लाग्यो भन्ने कुरा होइन् । देउवा पनि त चुनाव हार्ने डरले पाँच पाँच दलसँग मिलेर तालमेल गरिरहनु भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उहाँको सिंगो पार्टीप्रति म धन्यवाद दिन चाहन्छु । जुन उहाँले आफ्नो उम्मेदवारी फिर्ता लिएर मलाई प्रतिनिधिसभाको निर्वाचनका लागि समर्थन गर्दै हुनुहुन्छ ।

२०७४ मा देउवाले कम्युनिष्ट मिल्दा पनि २८ हजार मत पाएका थिए, यसवर्ष त झन् माओवादी पनि गठबन्धनमा छ, तपाई देउवालाई हराउन सक्नुहुन्छ ?

यहाँका मतदाताले हराउँछन् भन्नेमा विश्वास छ ।

तपाईंको यो प्रयास शेरबहादुर देउवा विरुद्धको इख मात्र हो ?

होइन ! जुन यहाँका समस्या छन् ती समस्याकाविरुद्ध मेरो उम्मेदवारी हो । अर्को कुरा पुरानो नेतृत्वले अहिलेसम्म केही गर्नसकेन । अहिलेको प्रतिस्पर्धा भनेको डडेल्लधुराका आमजनता र पुरानो नेतृत्वबिचको हो । त्यसकारण यहाँका समस्याहरु पुरा गर्न एक पटक डडेल्धुराका मतदाताहरुले मलाई जिम्मेवारी दिउन भन्ने अपिलका साथ मेरो उम्मेदवारी हो ।

देउवाविरुद्ध चुनाव जित्ने आधार के-के हुन ?

विपी कोइरालाले गाउँको विकास भनेको नै नेपालको विकास हो भन्ने बिचार अघि सार्नु भएको थियो । नाना, माना, थाना, स्वास्थ्य र शिक्षाको जिम्मेवारी राज्यले लिनुपर्छ भन्ने जुन विपीको बिचार थियो । मेरो एजेण्डा पनि त्यही हो । डडेल्धुरामा जुन भौतिकपूर्वाधारका समस्या छन् । ती समयस्यालाई पाँच वर्षमा पुरा गर्नेछु भन्ने एजेण्डाका साथ चुनावमा जाँदैछु ।

 डडेल्धुराका कयौँ वस्तीहरु दुव्र्यसनबाट ग्रस्त छन् । त्यसकारण म यहाँका मतदाताकै शक्तिका कारण डडेल्धुरालाई दुर्व्यसनबाट मुक्त बनाउने अभियानमा लाग्छु । अर्को कुरा पाँच वर्षमा डडेल्धुराबाट तराई जोड्ने द्रुत मार्गको सुरुवात गर्नेछु ।

यता गुल्मीका सागर ढकाल अब डडेल्धुराबाट देउवालाई मैले मात्र हराउन सक्छु भनेर चुनावी अभियानमा होमीएका छन् । उहाँप्रति तपाईंको धारणा के छ ?

उहाँ प्रति मेरो खासै केही धारणा छैन । शेरबहादुर देउवालाई यसपाली उमेरका हिसाबले पनि आराम गर्न दिनुपर्छ । डडेल्धुराका लागि उहाँले जेजे गर्नुछ गरिसक्नु भएको छ ।

तर, अब देउवालाई आराम दिनुपर्छ भन्ने उदेश्यका साथ जुन उहाँले यहाँका मतदाताहरुलाई जगाइ राख्नुभएको छ । त्यो प्रति मेरो एकवद्धता छ ।

त्यसो भए मंसिर ४ गते डडेल्धुराबाट देउवाको विदाइ हुने पक्का हो ?

मलाई विश्वास छ । यहाँका जनताहरुले उहाँलाई सम्मानका साथ विदाई गर्नु हुनेछ ।

अन्त्यमा केहि भन्नु छ?

यहाँका मतदाताहरुलाई अब फेरि पनि आफू अपमानित हुने व्यक्तिलाई भोट नदिन आग्रह गर्न चाहन्छु । यहाँ थुर्पै समस्या छन् । एउटी सुत्केरी महिलालाई अस्पतालसम्म लग्न बाटो छैन्, विद्यालको समस्या र यहाँ हरेक दिन विरोजगार युवा उत्पादन भइरहेका छन् र ति विरोजगार युवा दुव्र्यवसनमा फसिरहेका छन् ।

यस अवस्थालाई मुक्त गराउन र भोट दिएको मान्छेबाट अपमानित नहुन मलाई एक पटक सेवाको अवसर दिन आग्रह गर्न चाहन्छु । डडेल्धुरामा पैसा वितरण गर्न सुरु भइ सकेको छ । यस वर्ष यहाँका आमा बुवा, दाजुभाई र दिदिवहिनीहरुलाई म के भन्न चाहन्छु भने पैसा खानुहोला तर, भोट भने पैसा बाँड्ने मान्छेलाई नदिन आग्रह गर्न चाहन्छु ।

प्रतिक्रिया दिनुहोस
Advertisement