सुर्खेत – कर्णाली प्रदेश सभाको बजेट अधिवेशन आईतबारदेखि सुरु भएको छ ।
हिउँदे अधिवेशन सकिएको ४० दिनपछि बजेट अधिवेशन सुरु भएको हो ।
गत चैत्र १८ गते कर्णाली प्रदेश सभाको पाँचौ तथा हिउँदे अधिवेशन अन्त्य गरेको थियो । आईतबारदेखि छैटौं अधिवेशन सुरु भएको छ । अधिवेशनको पहिलो दिन प्रदेश सभामा सत्तापक्षले सरकारको बचाउ गर्ने र प्रतिपक्षले आचोचना गर्ने कार्यले भने निरन्तरता पाएको छ ।
सभामुखले दलीय आधारमा बोल्न सांसदहरूलाई समय दिएपछि कांग्रेस र एमालेले सरकारको बचाउ गरे भने सरकारको प्रमुख विपक्षी नेकपा माओवादी केन्द्रले सरकारको आलोचना गरेको छ ।
कर्णाली प्रदेश सभाको बजेट अधिवेशनमा भाग लिँदै मुख्यमन्त्री यामलाल कँडेलले कर्णालीको समृद्धिका लागि सबै दलहरूबीचको सहकार्य र सहअस्तित्व जरुरी भएको बताए । कर्णाली प्रदेश आन्दोलनबाट प्राप्त भएको प्रदेश भएकोले यसको विकास र समद्धिका लागि पनि सत्ता पक्ष र प्रतिपक्षसँगै अगाडि बढ्नु विकल्प नभएको उनले भनाइ छ ।
‘हामी सबै राजनितिक दल एक ठाउँमा भएर मात्र हामीले कर्णाली प्रदेश प्राप्त गरेका हौं,’ उनले भने, ‘अब कर्णालीको विकासका लागि पनि सबै दल एक ठाउँमा हुनुको विकल्प छैन ।’
कर्णालीको अविकास नै साझा प्रतिपक्ष भएको भन्दै कर्णालीको समृद्धिका लागि एकजुट हुनुपर्ने आवश्यकता उनले औंल्याए । आगामी बजेटलाई व्यवस्थित गर्न सरकारले योजना बैंकको अवधारणाबाट अघि बढ्न खोजेको भन्दै सहयोग गर्न विपक्षी दललाई समेत आग्रह गरे । आयोजना छनोट कार्यविधि अनुसार नै योजनाको बाँडफाँट हुने भएकाले थिति बसाल्ने कार्यमा लाग्न उनले आग्रह गरे ।
बजेट वितरण प्रणाली समेत व्यवस्थित हुने बताएका हुन् । मुख्यमन्त्री कँडेलले बजेट र योजना बाँडफाँटमा धेरै नै नकारात्मक टिकाटिप्पणी उठ्न थालेपछि चालू आर्थिक वर्षबाट आयोजना छनौट गर्न कार्यविधि बनाएको र योजना छनौटमा पक्षधरता वा झस्केलाबाट जान्छन् भन्ने विषयलाई समाप्त गर्ने अभियानमा सरकार लागिरहेको बताए ।
‘बजेट पारित गर्ने निकाय प्रदेशसभा हो । प्रदेश सभाले पास गरेको बजेट सरकारले कार्यान्वयन गर्छ,’ उनले भने, ‘सरकारले तजविजीका आधारमा बजेट बाँड्ने काम गर्दैन । प्रदेश सभाबाट पारित कार्यक्रम मात्र कार्यान्वयन गर्छ ।’
आयोजना छनौट गर्दा कर्णालीको रोजगारीका ३ क्षेत्र कृषि, साना उद्योग र पर्यटनलाई ध्यान दिने बताउँदै मुख्यमन्त्री कँडेलले यस वर्षदेखि मुख्यमन्त्री कर्णाली रोजगार कार्यक्रमलाई कृषि, आयआर्जन र उत्पादन आधारित आयोजनाका रूपमा विशिष्टीकृत गरिने बताए ।
कर्णाली प्रदेश सभामा विपक्षी दलका नेता राजकुमार शर्माले सरकारको रवैया प्रतिपक्षका लागि स्वीकार्य नभएको बताए । आईतबारदेखि सुरु भएको बजेट अधिवेशनमा बोल्दै विपक्षी दलका नेता राजकुमार शर्माले सरकार मनपरी रूपमा अगाडि बढेको आरोप लगाए । उनले सरकारले आफ्नो रवैया नसच्याए ज्ञानी भएर प्रतिपक्ष बस्न नसक्ने चेतावनी दिए ।
प्रतिक्रिया