कर्णालीमा ११ हजार पाँच सय हेक्टरको धान नष्ट


दैलेख – लगातार परेको भारी वर्षाले नष्ट पारेको धान माटो खोस्रेर बिउ बनाउने आशमा किसानहरू बटुल्न थालेका छन् । गत आइतबारदेखि लगातार तीन दिन परेको अविरल वर्षातले नष्ट गरेको धानलाई माटो खोस्रेर भए पनि बिऊ बनाउने सोचमा रहेको किसानहरू बताउँछन् । त्यहीमध्येको वीरेन्द्रनगर–१० का मानबहादुर चौधरी पनि माटोमा मिसिएको धानलाई बटुल्दै थिए । मानो रोपेर फलाएको मुरी धान नष्ट हुँदा के खाने कसरी परिवार पाल्ने भन्ने चिन्ता थपिएको छ ।

‘मानो रोपेर मुरी फलाउने सोचले वर्षभरि मिहेनेत गरेँ’, उनले भने, ‘तर, अहिले आएर खाने बेला मुखैमा ताला लाग्यो, अब कसरी परिवार पालौँ ?’ त्यस्तै पीडामा छट्पटाएका छन्, सोही ठाउँकै पे्रम पौडेल पनि । उनको पीडा पनि उस्तै छ । ‘पहिले १५ मुरी धान उत्पादन हुन्थ्यो । तर, अहिले १५ माना हुन पनि मुस्किल छ’, उनले भने, ‘वर्षभरि मेहेनत गरेँ । खाइनखाइ गरेर आठ कट्ठा जमिनमा धान रोपाईं गरियो । अहिले सबै वर्षातले नष्ट गर्याे । वर्षभरिको मेहनत गरियो सबै खेर गयो ।’

वर्षभरि गर्नसम्म दुःख गर्दै मानो रोपेर मुरी फलाएको धानलाई बटुल्ने किसानका इच्छा यो वर्ष अधुरै रहने भएको छ । अघिल्लो आइतबारदेखि लगातार तीन दिनसम्म परेको अविरल वर्षाले काटेर सुकाएको धान उठाउन नपाउँदै भिजेर खेतमै उम्रिएको छ । लगातार तीन दिन परेको अविरल वर्षातले कर्णालीका दशवटै जिल्लामा असर गरेको छ । पानीले धान, कोदो, भटमास, केराउ लगायत अन्न भित्र्याउन नपाउँदै खेमै नष्ट भएको छ ।

कृषि विकास निर्देशनालय सुर्खेतका अनुसार ४८ हजार हेक्टर क्षेत्रफलमध्ये ११ हजार पाँच सय हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली नष्ट भएको छ । सुुर्खेतमा दुुई हजार ५०० हेक्टर, दैलेखमाा एक हजार ५०० हेक्टर, कालीकोटमा एक हजार ११५ हेक्टर, मुगुमा एक हजार ३७५ हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली नष्ष्ट भएको छ ।

जुम्लामा ७०८ हेक्टर क्षेत्रफल, सल्यान दुुई हजार ७५८ हेक्टर, रुकुमपश्चिममा ६१० हेक्टर, जाजरकोट ७५३ हेक्टर र डोल्पामा १५० हेक्टर क्षेत्रफलको धानबाली नष्ट भएको कृषि विकास निर्देशनालय सुर्खेतका निमित्त निर्देशक तथा वरिष्ठ कृषि अर्थविज्ञ चित्रबहादुर रोकायले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement