काठमाण्डु – नेकपा एमालेबाट बर्खास्तीमा परेका कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीलाई आजै शपथ ग्रहण गराइने भएको छ ।
प्रदेश प्रमुख गोविन्द कलौनीले आज दिउँसो १ बजे शपथ ग्रहण गराउने सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री विमला केसीले काठमाण्डुपाटीलाई बताइन् ।
शपथ ग्रहण गर्नेहरुमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, भौतिक पूर्वाधार मन्त्रालयमा अमर बहादुर थापा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही रहेका छन् ।
सोमबार बसेको प्रदेश सभा बैठकमा सभामुखले नेकपा एमालेका चार जना सांसद कारबाही गरेको जानकारी गराएपछि उनीहरु सांसदबाट पदमुक्त भएका थिए ।
कर्णालीमा फ्लोर क्रस गरेर नेकपा एमाले माधव नेपाल समूहका चार जना सांसदले मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको पक्षमा मतदान गरेका थिए । जसमध्ये तीन जना मन्त्री भएका छन् । उनीहरुले मन्त्रीमा नियुक्तको भएको ११ दिनपछि पुनः शपथग्रहण गर्ने भएका हुन् ।
उनीहरुले गत शनिबार प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीबाट पद तथा गोपनीयताको सपथ लिएका थिए । उनीहरु मन्त्री भएको ८ दिनमा सांसदबाट पदमुक्त भएका हुन् ।
नेकपा एमालेले कर्णालीमा फ्लोर क्रस गर्ने तीन जना मन्त्रीसहित अर्का सांसद प्रकाश ज्वालालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पदमुक्त गरेको हो । उनहिरुले पार्टीको ह्वीप उल्लंघन गरी विपक्षी पार्टीको सरकारलाई सघाएको आरोप छ ।




प्रतिक्रिया