कश्मीर संकटमा परेका जनताको पक्षमा बोलिदिन पाकिस्तानी मन्त्रीको परराष्ट्रमन्त्री ज्ञवालीलाई आग्रह


काठमाडौं – पाकिस्तानी विदेश मन्त्री मखदुम साह महमुद कुरेसीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई फोन गरेका छन्।भारतीय विदेशमन्त्री एस जयशंकर दुई दिने नेपाल भ्रमणमा रहेकै बेला पाकिस्तानी मन्त्री कुरेसीले कश्मीर मुद्दालाई लिएर नेपालको भूमिकाबारे दीप ज्ञवालीलाई फोन गरेका हुन्।

मन्त्री कुरेसीले भारतले कश्मीरमा लागू धारा ३७० खारेज गर्दै विशेषाधिकार खोसेको अवस्थामा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को अध्यक्ष राष्ट्रको हैसियतले भूमिका खेल्न अपिल गरेका हुन्। विदेश मन्त्री कुरेसीले दक्षिण एसियाली मुलुकमा शान्ति र स्थिरता कायम गरिराख्नका लागि सार्क अध्यक्षका राष्ट्रका हैसियतले भारतका कारण कश्मीरमा संकटमा परेका जनताको पक्षमा बोलिदिन आग्रह गरेका हुन्।

पाकिस्तानी विदेश मन्त्रालयले बिहीबार राति जारी गरेको प्रेस विज्ञप्तिमा कुरेसीले ज्ञवालीको टेलिफोन संवादमा भारत अनिनस्थ कश्मीरमा देखिएको समस्याबारेमा गम्भीर वार्ता भएको उल्लेख गरिएको छ। पाकिस्तानी विदेशमन्त्रीले कश्मीरमा भारतले गरेको हस्तक्षेप अवैधानिक र एकपक्षीय कारवाहीको संज्ञा दिँदै त्यस्तो कदमलाई अन्तर्रा्ष्ट्रिय कानुन र संयुक्त राष्ट्र सुरक्षा परिषद्को सिद्धान्तविपरित भएको जिकिर गरेका छन्।

भारतले कश्मीरलाई दिइएको विशेषाधिकार खोस्ने निर्णयसहित धारा ३७० पनि खारेजी गरेपछि अहिले पाकिस्तानसंग तनाव चुलिँदै गएको छ । कश्मीरलाई लिएर भारत र पाकिस्तानबीच लामो समयदेखि द्वन्द्व चलिआएको छ। पाकिस्तानी मन्त्रीले भने, ’भारतले अनधिकृतरुपमा हस्तक्षेप गरेपछि जम्मु-कश्मीरको शान्ति खलबलिएको छ। भारतीय पक्षले त्यहां व्यापक दमन गरेको छ । यसले दक्षिण एसियाकै शान्ति र सुरक्षामा गम्भीर खतरा पैदा भएको छ।’ विदेशमन्त्री ज्ञवालीसँगको फोन वार्तामा पाकिस्तानी मन्त्रीले भारतीय हस्तक्षेपका कारण कश्मीरमा मानवअधिकार, आधारभूत मानवीय अवस्था संकटमा परेको बताएका छन्। ’भारतले कश्मीरमा टेलिफोन र इन्टरनेट काटिदिएको छ।

तर नेपालको तर्फबाट यसबारे कुनै आधिकारिक जानकारी दिइएको छैन। परराष्ट्र प्रवक्ता भरतराज पौड्याल र परराष्ट्र मन्त्रीका प्रेस सहयोगीले पनि यसबारेमा कुनै धारणा राख्न चाहेनन्। तर तीन दिनअघिको पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले कश्मीर मुद्दालाई नेपालले नजिकबाट नियालिरहेको बताएका थिए। बिहीबार मात्रै नेपालबाट फर्किएका भारतीय विदेशमन्त्री एस जयशंकरले कश्मीर मुद्दामा नेपालले भारतको साथ दिनुपर्ने बताएका थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement