उपनिर्वाचन : सबैको आँखा कास्की–२ मा


कास्की – देशभरिबाट विशेष चासोका रुपमा हेरिएको कास्की क्षेत्र नं २ को चुनावी प्रचारको समय मौन अवधि नजिक पुगेको छ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको निधनपछि खाली भएको यस क्षेत्रमा मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ ।

महानगरका ११ वटा वडाका ७१ हजार ८७१ मतदाताले उम्मेदवार चयन गर्दैछन् । यस क्षेत्रमा ठूला, साना र स्वतन्त्र गरी २१ जनाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । चुनावी चर्चामा विशेष गरी दुई पार्टी देखिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट अनेरा स्ववियूका पूर्व सचिवसमेत रहेकी विद्या भट्टराई उम्मेदवारका रुपमा छन् ।

नेपाली काँग्रेसले पनि पार्टीमा लामो समय योगदान गरेको भन्दै ७४ वर्षीय खेमराज पौडेललाई उम्मेदवार बनाएको छ । त्यसैगरी समाजवादी पार्टीका तर्फबाट धर्मराज गुरुङ र राप्रपाका तर्फबाट रोमबहादुर भण्डारी उम्मेदवार छन्। वैकल्पिक शक्तिका रुपमा प्रचार गर्दै आएको साझा पार्टीले पनि युवा नेत्री रजनी केसीलाई उम्मेदवार बनाएर प्रचार शैलीलाई व्यापकता दिएको छ ।

यता साधारण ‘मान्छेको असाधारण राजनीति’ भन्दै विवेकशील नेपाली दलका तर्फबाट स्वतन्त्र उम्मेदवार जमुना शर्मा पनि मतदातामाझ पुगेकी छन् । स्वतन्त्रका उम्मेदवार पनि सामाजिक सञ्जालबाट आफ्नो चुनावी कार्यसूचीलाई सार्वजनिक गरिरहेका छन् । विशेष गरी चर्चामा भने काँग्रेस र नेकपाका दुई उम्मेदवार देखिएका छन् । दुवै पार्टीले यस उपनिर्वाचनलाई प्रतिष्ठाको विषय बनाएकाले पनि यस चुनावलाई विशेष रुपमा हेरिएको छ ।

कस्केलीले सत्तारुढ नेकपाकी भट्टराई राजनीतिक चेत भएको, सामाजिक अध्ययनको पृष्ठभूमिका साथै प्राज्ञिक महिला भएका कारणले उनको राजनीतिको पुनः आगमनलाई स्वागतयोग्य ठानेका छन् । जुझारु र विकासप्रेमी नेता अधिकारीकी पत्नी भएकाले पनि उनीप्रति मतदाताको सहानुभूति रहन्छ कि भन्ने अनुमान छ । जनताको आधारभूत आवश्यकताको पहिचान गरी त्यसको समस्या समाधान गर्न नेताले सक्नुपर्ने र त्यसलाई समाजको गहिरो अध्ययनको अनुभव मिसाई राजनीतिबाट समाधान गर्न सक्ने क्षमता आफूसँग भएको भट्टराईले बताउँदै आएकी छन् ।

पछिल्लो समय राजनीतिप्रति युवाको वितृष्णा बढ्दै गएको भन्दै नयाँ पुस्तालाई राजनीतिमा संलग्न गराएर नयाँ ‘भिजन र मिशन’का साथ अघि बढ्नुपर्ने बेला आएको उनको भनाइ छ । उद्यमशील समाजबाट समृद्धि हासिल हुने कुरामा विशेष ध्यान दिनुपर्ने तर्क उनको छ । यस क्षेत्रमा अधिकारीले तीन पटकसम्म चुनाव जितेकाले पनि कतिपयले यसलाई आधार मानेका छन् ।

काँग्रेसका उम्मेदवार पौडेल पनि आफू निष्ठाको राजनीति गरेकाले पार्टीमा आफ्नो योगदानको मूल्याङ्कन ढिलै भए पनि भएको बताउँछन् ।

जनताका पक्षमा आवाज उठाउने नयाँ सोच र खबरदारी गर्ने दृढ सङ्कल्प आफूसँग रहेकाले यसपालिको चुनाव उमेरले बूढो भए पनि राजनीति गर्ने युवा जोश र जाँगर आफूसँग अझै रहेकाले ट्रम्प स्टाइलबाट चुनाव जित्ने उनले बताउँदै आएका छन् ।

लामो समय शिक्षण पेशामा आबद्ध पौडेललाई मतदाताले अग्रज गुरुका रुपमा मानेका छन् । चुनावी अभियानमा कार्यकर्ताको राम्रै उपस्थितिका साथ घरदैलामा देखिएका समाजवादी पार्टीका उम्मेदवार गुरुङ पनि आफ्नो जीत सुनिश्चित भएको बताउछन् ।

विदेशका विभिन्न ठाउँ र संयुक्त राष्ट्र सङ्घमा लामो समय काम गरेको अनुभवसमेत रहेको बताउने इञ्जिनीयर गुरुङ देश कसरी बन्छ भन्ने दृष्टिकोण आफूसँग रहेकाले देशका लागि आफू चाहिने नेता भएको जिकिर गर्छन् ।

आर्थिक र विलासी जीवनशैलीको लोभ आफूमा नभएकाले बाँकी जीवन देशको विकासमा समर्पण गर्ने उनको अठोट छ । घरदैलोमा आफू जस्तै नेता जनताले खोजेकाले आफ्नो जीत सुनिश्चित भएको उनको जिकिर छ । राप्रपाका भण्डारीले पनि हिन्दू राष्ट्रको माग आफ्नो पार्टीले उठाएकाले जनताले आफूहरुलाई मत दिने विश्वास व्यक्त गर्छिन् । विसं २०२८ मा प्रधानपञ्च बनेकी भण्डारी २०४९ मा पोखरा महानगरपालिकाका प्रम्ुखको प्रत्याशी हुन् ।

विसं २०५६ मा सांसदमा उठेको अनुभवसमेत उनीसँग छ । मतदातामाझ पुग्दा देशमा संवैधानिक राजतन्त्र आवश्यक रहेको र हिन्दू धर्मसंस्कृतिको खातिर पनि राप्रपालाई जनताले रोज्ने भण्डारी बताउछन् । अब जनताले राजतन्त्र र हिन्दू राष्ट्र खोजेको भन्दै आफूले चुनाव जित्नेमा शङ्का नरहेको उनको भनाइ छ ।

साझा पार्टीका उम्मेदवार केसी देश बदल्न मन र मत बदल्नुपर्ने तर्कका साथ घरदैलामा पुगेकी छन् । देशमा पटक पटक शासन व्यवस्था बदलिए पनि पद्धति नबदलिएकाले अब जनताले वैकल्पिक शक्तिको महसुस गरेको भन्दै आफूलाई जनताले मत दिनेमा ढुक्क छन् ।

परम्परावादी सोचको राजनीतिको आयु अब सकिएको छ भन्दै उनले देशमा सुशासनका लागि साझा पार्टी एक मात्र विकल्प भएको र कास्कीबाट इतिहासको विकुल फुक्ने दिन नजिकिएको जिकिर गििर्छन् ।

विवेकशील नेपाली दलका तर्फबाट स्वतन्त्र उम्मेदवार जमुना शर्माले पनि अबको राजनीति कुनै वाद÷तन्त्रविरुद्ध वा प्राप्तिको निम्ति नभई राजनीति गरीबी, अशिक्षा, भ्रष्टाचार, असमानता र परिनिर्भरताविरुद्ध हुनुपर्ने बताउँदै आएकी छन्। मतदाताले राजनीतिमा युवा र महिलाको उपस्थिति देख्न चाहेकाले पनि आफू साधारण मान्छेबाट असाधारण राजनीतिलाई सम्भव तुल्याउन एउटा अठोट लिएर मैदानमा उत्रिएको उनी बताउछिन् ।

‘परिवर्तन सम्भव छ त्यो हामीले गर्छौ’ भन्दै उनी यसपालिको उपनिर्वाचनबाट जनताले सही नेतृत्व चुन्ने विश्वास गर्छिन् । उपनिर्वाचनको आज घरदैलो र चुनावी अभियानको अन्तिम दिन रहेको छ । राजनीतिक दलहरु चुनावी अभियानलाई रोक्दै आन्तरिक रुपमा आफ्नो पक्षमा वातावरण बनाउने आन्तरिक गृहकार्यमा समेत जुटिसकेका छन् ।

सबै उम्मेदवारले आफूलाई योग्य ठानेर जिकिर गरे पनि यसको फैसला भने मङ्सिर १४ गतेपछि कुर्नैपर्छ । कास्कीका कुल ७१ हजार ८ सय ७१ मतदाताले ३२ स्थल र ८२ केन्द्रबाट मतदान गर्दैछन् ।रासस

प्रतिक्रिया दिनुहोस
Advertisement