काठमाण्डु – जिल्ला प्रशासन कार्यालय काठमाण्डुले मनसुनी वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेकाले सडकमार्गबाट काठमाण्डु भित्रिने तथा बाहिरिने यात्रुले विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।
प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलद्वारा जारी अत्यावश्यक यात्रा सचेतना सूचनामा जल तथा मौसम विज्ञान विभागले केही क्षेत्रमा भारी वर्षाको ‘रेड अलर्ट’ जारी गरेको सन्दर्भमा काठमाण्डु उपत्यकाका उत्तर, दक्षिण, पूर्व र पश्चिमतर्फका सबै प्रवेश तथा बाहिरिने नाकाबाट यात्रा गर्ने सार्वजनिक र निजी सवारीसाधनका चालक, सहचालक, सवारीधनी तथा यात्रुलाई उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
प्रशासनले विगतका वर्षमा रातिको समयमा बाढी र पहिरोका कारण गम्भीर क्षति भएको स्मरण गराउँदै सम्भावित भारी वर्षा हुने दिनमा रातिको यात्रा सकेसम्म सावधानीपूर्वक गर्न आग्रह गरेको छ ।
यात्रा सुरु गर्नुअघि राजमार्गको अवस्था र सडक अवरुद्ध भए/नभएको जानकारी प्रहरी प्रशासनबाट यकिन गर्न तथा बाटो अवरुद्ध भएको अवस्थामा यात्रुलाई सुरक्षित स्थानमा मात्र रोक्न र खाना तथा खानेपानीको उचित व्यवस्था मिलाउन पनि प्रशासनले अनुरोध गरेको छ ।
बाढी वा पहिरोका कारण अवरुद्ध सडक पूर्णरूपमा सञ्चालनमा आएको भन्ने आधिकारिक जानकारी प्रहरी प्रशासनबाट प्राप्त भएपछि मात्र यात्रा पुन: सुरु गर्न प्रशासनले सबैलाई सचेत गराएको छ ।
आपतकालीन अवस्थाका लागि नेपाल प्रहरीको १००, ट्राफिक प्रहरीको १०३, सशस्त्र प्रहरी बल नेपालको १११४ तथा जिल्ला आपतकालीन सञ्चालन केन्द्रको १२३४ नम्बरमा सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।





प्रतिक्रिया