उपत्यकामा बाढीको वितण्डा, एक जनाको मृत्यु, ४० को उद्धार

उपत्यकामा बाढीको वितण्डा, एक जनाको मृत्यु, ४० को उद्धार


काठमाण्डु-गएराती परेको भीषण वर्षा पछि आएको बाढीले काठमाडौं उपत्यकाका विभिन्न स्थान डुबानमा परेका छन् । डुबानबाट बढी भक्तपुर र ललितपुरका विभिन्न क्षेत्र प्रभावित बनेका छन् । ललितपुरका ७ स्थान डुबानमा परेका छन् ।

प्रहरीका अनुसार ललितपुरका विभिन्न स्थानबाट डुबानमा परेका २४ जनालाई उद्धार गरिएको छ । काठमाडौंको बल्खु खोलामा एक जना मृत अवस्थामा भेटिएका छन् ।

बल्खु खोलामा आएको बाढीले बगाउँदा उनको मृत्यु भएको हुनसक्ने अनुमान गरिएको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका एसएसपी दिनेशराज मैनालीले बताए । उनका अनुसार, मृत्यु हुनेमा बाँके घर भइ सुकुम्बासी वस्तीमा बस्ने ४५ वर्षीय राम सरुप महतो छन् ।

आज उनको शव बल्खु पुल मुनि अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी परिसर, ललितपुरका अनुसार सुन्दरीघाटबाट ८ जना, युएन पार्कबाट दुई, बालकुमारी पुलबाट १ जना, महालक्ष्मी नगरपालिका–७ स्थित चागाँथलीबाट ७ जना र सानेपा राम मन्दिरबाट ६ जनाको उद्धार गरिएको छ ।

बर्षाले काठमाडौंको कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटमा रहेको राधा स्वामी एरियामा फसेका १५ जनाको पनि सशस्त्र प्रहरीले उद्धार गरेको छ । बल्खुको तरकारी बजार आसपास समेत बाढीले डुबानमा परेको छ । त्यस्तै, वर्षाले काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाको सीमा छुट्याउने मनोहरा र हनुमन्ते खोलाको

दोभान क्षेत्र डुबानमा छ । बाढीले नदी किनार क्षेत्रका घर, विद्यालय र ग्यारेजमा क्षति पुगेको छ । हनुमन्तेको करिडोर सडक ठप्प छ । बाढीले काठमाडौं महानगरपालिकाको ३४ नम्बर वडा नरेफाँट, भक्तपुर र ललितपुरको महालक्ष्मी नगरपालिकाका ५ को टीकाथली क्षेत्रसमेत डुबानमा परेको हो ।

ललितपुरको च्यासलस्थित एमालेको केन्द्रीय कार्यालय अगाडिको बागमती नदीको पुल माथिबाटसमेत बाढी बगेको छ ।

च्यासलस्थित एमाले केन्द्रीय कार्याल्य, फुटबल मैदान, अस्थायी प्रहरी पोष्ट र पार्टी प्यालेसमा बाढी पसेको छ ।

सानेपा बल्खुदेखि शंखमुलसम्मको बागमती किनारको सडक क्षेत्र र सानेपाको रााम मन्दिर क्षेत्रमा पनि बाढी पसेर हिलाम्मे भएको छ ।

इमाडोलको किस्ट अस्पताल आसपास, पवन प्रकृति स्कुल आसपासको क्षेत्र र महालक्ष्मी नगरपालिका–७ चाँगाथलीमा गोदाबरी खोलाको बाढी बस्तीमा पसेको छ ।

ललितपुरको कुपण्डोलस्थित १ नम्बर वडा कार्यालय तथा काठमाडौंका बागमती नदी किनारका शंखमुल पार्क, सुकुम्बासी बस्ती, श्रमिक कान्ति कजेल, ननस्टप बसपार्कमा बागमतीको बाढी पसेको छ ।

काठमाडौंको बाफल क्षेत्रमा पनि डुबान भएको छ । बाफलस्थित ज्ञानोदय स्कुलभित्र भल पसेपछि आज बिदा दिइएको छ । काठमाडौंको धोबिखोला, चाबहिल, कपन क्षेत्रमा बाढीको सतह सतर्कताको तहसम्म पुगेको छ । त्यसैले खाला किनारका क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले एसएमएसमार्फत् अनुरोध गरेको छ ।

भक्तपुरको सल्लाघारी, जगाती लगायत स्थानका घरमा बाढी पसेको छ ।

सूर्यविनायक नगरपालिकाको पुरानो जगाती पुल नजिकको एक कपास उद्योगमा र चाँगुनारायण नगरपालिका–८ को एक फर्निचर उद्योगमा पनि बाढीले क्षति पुर्‍याएको जिल्ला प्रहरी परिसर भक्तपुरका इन्सपेक्टर टेकेन्द्र पौडेलले जानकारी दिए ।

पुरानो जगाती पुल नजिकको ठाडो खोलाको बाढी कपास उद्योगमा पस्दा कपास र कपासले बनेका तयारी सिरक–डसनामा क्षति पुगेको छ । त्यहाँ अनुमानित १० लाख मूल्य बराबरको क्षति भएको प्रहरीको भनाइ छ ।

यसैगरी चाँगुनारायण नगरपालिका ८ मा लक्ष्मी प्रजापतिले सञ्चालन गरेको साइन उडन फर्निचरमा व्रह्मायणी खोलाको बाढी पसेको थियो । बाढीले फर्निचर उद्योगका प्लाई र मेसिन गरी १० लाख बराबरको क्षति पुगेको प्रजापतिले प्रहरीलाई विवरण टिपाएका छन् ।

भक्तपुर प्रहरीका अनुसार बाढीले मानवीय र अन्य ठूलो भौतिक क्षति पुगेको जानकारी भने आएको छैन । तर, विभिन्न स्थानमा बस्ती जलमग्न भएका छन् । सधैं डुबान हुने गरेको राधेराधे क्षेत्रमा भने ठूलो बाढी देखिएको छैन ।