काठमाण्डु- काठमाडौँ महानगरपालिकाले असार ५ गतेदेखि २६ गतेसम्म टोल–टोलमा फिल्म महोत्सव गर्ने भएको छ ।
यो कार्यक्रम हरेक शुक्रबार र शनिबार सार्वजनिक स्थल, पार्क, डबली र चोकहरूमा सञ्चालन हुने महानगरले जनाएको छ । यहाँ सर्ट फिल्म, चलचित्र प्रदर्शनसँगै कला, संस्कृति र रचनात्मक उद्योगबारे संवाद पनि हुनेछ ।
कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार यस कार्यक्रमको मुख्य उद्देश्य समुदायमा रहेका रचनात्मक सीपलाई उद्यम र उद्योगसँग जोड्नु भएको बताइन् ।
उनेले भनिन्, ‘समुदायमा भएका रचनात्मक सिपलाई उद्यम र उद्योगको विकासका लागि काम थालिएको हो ।’
महानगरले यो कार्यक्रमलाई भविष्यमा हुने अन्तर्राष्ट्रिय फिल्म महोत्सवसँग पनि जोड्ने योजना बनाएको छ । यसलाई फिल्म क्षेत्रको विकासतर्फको पहिलो चरणका रूपमा लिइएको छ । प्रवक्ताका अनुसार, ‘यो कार्यक्रमको थालनी हो । यसलाई अन्तर्राष्ट्रिय फिल्म महोत्सवसँग जोडेर सम्पन्न गरिनेछ ।’
महोत्सव असार महिनामा ८ वटा स्थानमा हुनेछ र प्रत्येक स्थानको व्यवस्थापन स्थानीय संस्थाले गर्नेछन्। कार्यक्रम सञ्चालनका लागि ८ संस्था छनोट गरिएका छन् ।
महानगरका अनुसार यस कार्यक्रमले नेपाली चलचित्र क्षेत्रको विकास, जनशक्ति विकास, प्रशिक्षण, अनुसन्धान, छात्रवृत्ति तथा रचनात्मक उद्योगको पूर्वाधार सुधारमा सहयोग गर्ने लक्ष्य राखिएको छ ।
समग्रमा, काठमाडौँ महानगरले टोल–टोलमा फिल्म देखाउँदै कला, संस्कृति र रचनात्मक उद्योगलाई विस्तार गर्ने दीर्घकालीन योजना अघि बढाएको हो ।




प्रतिक्रिया