गठबन्धन भर्सेस एमाले : काठमाण्डु मेयरमा केशव कि सिर्जना ?


काठमाण्डु – काठमाण्डु महागनरपालिका प्रमुखका लागि सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । स्थानीय तहको निर्वाचन आउन अब १७ दिन बाँकी रहँदा दलहरु चुनावी मैदानमा होमिएका छन् ।

काठमाण्डुको मेयरका लागि सत्ता गठबन्धनका तर्फबाट कांग्रेस नेतृ सिर्जना सिंह र प्रतिपक्षी दलबाट केशव स्थापितले उम्मेदवारी दिएका छन् । उनीहरुले हिजो भृकुटिमण्डपस्थित राष्ट्रियसभा गृहमा बाजागाजासहित पुगेर मनोनयन दर्ता गराएका हुन् ।

त्यस्तै गठबन्धनबाट उपमेयरमा नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले उम्मेदवार दर्ता गरेका छन् । त्यस्तै प्रतिपक्षी दल एमालेको तर्फबाट उपमेयरमा सुनिता डंगोलले उम्मेदवारी दिएकी छन् ।

उम्मेदवारी दर्ता गर्न एमाले बाजागाजासहित भृकुटी मण्डप पुगेको थियो । मेयरका उम्मेदवार स्थापितले आफ्नो जित सुनिश्चित भइसकेको बताए । ‘म चुनाव जित्नेमा ढुक्क छु। ०५४ सालमै ८४ हजार ६ सय भोट ल्याएको मान्छे हुँ, म प्रमाणित मान्छे पनि हुँ। योपटक दोब्बर मतले विजयी हुन्छु,’ उनले भने ।

उनले आफूले पार्टीले जारी गरेको घोषणापत्र अनुसार काम गरेर देखाउने दावी गरे । ‘मैले पार्टीले तयार पारेको काठमाण्डु महानगरको घोषणापत्र कार्यान्वयन गर्छु। गठबन्धनको कुनै तुक छैन । मेरो जित सुनिश्चित भइसक्यो,’ उनको भनाई थियो ।

सो क्रममा यौन दुर्व्यवहारको आरोप लागेको विषयले भने आफुलाई कुनै फरक नपार्ने बताए । ‘यौन दुर्व्यवहारको आरोपले मलाई कुनै फरक पर्दैन । आजकल पागलहरुको लागि औषधि खान केही पैसा लाग्दैन । म जतिको व्यक्तित्व उपर इस्यु उठेन भने केशव स्थापित नै भएन । विवादमा नआउने नि केशव स्थापित हुन्छ ?,’ उनले प्रश्न गर्दै भने ।

उनले आफूले टिकट पाउँदा विद्यासुन्दर शाक्य खुसी रहेको दाबी गरे । त्यस्तै उपमेयरकी उम्मेदवार सुनिता डंगोलले आफूले काठमाण्डु महानगरलाई सांस्कृतिक नगरको रुपमा विकास गर्ने योजना सुनाइन् । ‘पार्टीभन्दा एजेण्डा ठूलो कुरा हो। मैले आफूले उठाएका एजेण्डा कार्यान्वयनमा ल्याउँछु,’ उनले भनिन् ।

उनले पदका लागि लोभ नगरेको स्पष्ट पारिन् । ‘पदभन्दा ठूलो उद्देश्य हुनुपर्छ । उहाँ (केशव स्थापित) जस्तो अनुभवीसँग संगत गर्न पाउनु हामीसँगै काठमाण्डुबासीका लागि उदाहरण हुनेछ,’ उनले भनिन् । यता कांग्रेस नेतृ सिंहले आफूले चुनाव जित्ने बताइन् । सिंहले आफू निर्वाचित भए जनताको मन छुनेगरी काम गर्ने बताइन् ।

उनले भनिन्, ‘गणेशमान सिंहकी बुहारी तथा प्रकाशमान सिंहकी श्रीमती नभएर राजनीतिक योगदानाको आधारमा टिकट पाएको हुँ। महिलाहरूको हकहितको लागि विशेष काम गर्छु । बालबालिकाको लागि विभिन्न कार्यक्रम र बेरोजगार युवाहरूको लागि क्षमताको आधारमा कार्यक्रम ल्याउँछु ।’

साथै उनले काठमाण्डुलाई सफा र सुरक्षीत सहर बनाउनेमा आफ्नो ध्यान केन्द्रीत गर्ने प्रतिवद्धता जनाइन् । सबैभन्दा बढी मतदाता भएको संघीय राजधानी काठमाण्डु महानगरको मेयरका लागि ५६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । काठमाण्डुको मेयरमा गठबन्धनको तर्फबाट सिंह, एमालेबाट स्थापित, विवेकशील साझाबाट समीक्षा बास्कोटा, स्वतन्त्र उम्मेदवार बालेन शाहलगायत ५६ जनाले उम्मेदवारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement