काठमाण्डु मेडिकल कलेजमा ‘रोबटिक सर्जरी’


काठमाण्डु – सिनामंगलस्थित काठमाण्डु मेडिकल कलेज (केएमसी)ले ‘रोबटिक सर्जरी’ सुरुवात गर्ने भएको छ । आज काठमाण्डुमा पत्रकार सम्मेलन गरी न्युरो सर्जरीमा नेपालमै पहिलोपटक अत्याधुनिक प्रविधि भित्राएको दाबी गरेको छ ।

‘रोबटिक सर्जरी’का लागि केएमसीले करिब १० करोडको लागतमा मेसिन खरिद गरिएको दाबी गरेको छ । केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिल शर्माले दक्षीण एसियामा भारतपछि नेपालमा उक्त प्रविधी प्रयोगमा आएको बताए ।

न्युरो सर्जरीमा रोबटको सहायताले अप्रेसन गरिने डा. शर्माले पत्रकार सम्मेलनमा जानकारी दिए । वरिष्ठ न्यूरो सर्जन डा.अमित थापाको टोलीले उक्त प्रविधीको प्रयोग गरि सल्यक्रिया गर्ने अस्पतालले जनाएको छ । यो प्रविधि सूक्ष्म र जटिल खाले शल्यक्रियामा प्रयोग हुने र यसले अप्रेसनमा धेरै सहजता प्रदान गर्ने डा. थापाले बताए ।

उनले भने, ‘रोबटले नै अप्रेसन गर्ने मानव जनशक्तिनै चाइँदैन भन्ने होइन , सर्जनले योजना बनाएर रोबटको सहायता लिएर अप्रेसन गर्ने हो । सानो–सानो अगंमा पुगेर गरिने सूक्ष्म अप्रेसनमा सर्जनको हात काम्न सक्छ, त्यस्तो अवस्थामा रोबटको सहायता लिँदा काम उत्कृष्ट हुने हुनाले सर्जनलाई सजिलो हुन्छ साथै विरामीहरुलाई पछि कम समयमा निको पार्न सकिन्छ ।’

डा. थापाले यो प्रविधिको प्रयोगले सूक्ष्म र जटीलखाले सल्यक्रिया गर्न पनि सहज हुने उनको भनाइ छ ।

‘सानो प्वाल बनाएर गर्नुपर्ने अप्रेसन जसमा मानवबाट केही कमजोरी हुनसक्छ जस्तै हात काप्न सक्छ त्यसले असर पु¥याउन सक्छ । त्यस्ता संवेदनशील अंगमा पुगेर गरिने जटिल अप्रेसनहरूमा रोबटको प्रयोगले सफलतापुर्वक गर्न सकिन्छ,’ उनले भने ।

अत्याधुनिक र भरपर्दो मानिने भएकाले केएमसीमा पहिलोपटक सुरू गर्न लागिएको उनको दाबी छ । अबको केही दिनमै सेवा सुरु गर्ने अस्पतालले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement