काठमाण्डु – काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ । लामो समयदेखि पानी नपरेको र हावा पनि चल्न नसकेकाले प्रदूषणको मात्रा बढ्दा विश्वकै अति प्रदूषित शहरमा सूचीकृत भएको हो ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार काठमाडौंमा मौसम धुम्मिएको छ । केही दिनयता आकाश खुल्न सकेको छैन । पानी पनि पर्न नसक्दा वायु प्रदूषणको मात्रा अस्वस्थ स्तरमा पुगेको छ ।
वायु गुणस्तर निगरानी गर्ने आईक्यू एअरसूचकका अनुसार काठमाडौं बुधबार विश्वकै दोस्रो बढी प्रदूषित शहरको सूचीमा छ । बिहान ९ बजे आईक्यू एअर सूचकांक १८४ रहेको छ ।
पहिलो स्थानमा भारतको दिल्ली छ । दिल्लीको सूचकांक २३० छ । त्यस्तै तेस्रोमा बंलादेशको ढाका छ भने चौथो स्थानमा पाकिस्तानको लाहोर र कुवेत छन् ।
यसअघि विश्वभर हावाको गुणस्तर अनुगमन गर्ने संस्था आईक्यू एअरले प्रकाशन गरेको पछिल्लो प्रतिवेदन अनुसार सन् २०२४ मा प्रदूषित देशहरूको सूचीमा नेपाल सातौ स्थानमा पुगेको उल्लेख छ ।
तथ्याङ्क अनुसार सन् २०२४ मा नेपालको हावामा आँखाले नदेखिने धूलोको कण पीएम २.५ सरदरमा ४२ दशमलव ८ माइक्रोग्राम प्रतिघनमिटर देखिएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को मापदण्ड अनुसार हावामा पीएम २.५ को मात्रा वार्षिक औसतमा पाँच माइक्रोग्राम घनमिटरभन्दा बढी हुन हुँदैन ।
डब्लूएचओका अनुसार प्रदूषित हावाका कारण दम, श्वासप्रश्वासका रोग, मुटुरोग, क्यान्सरलगायत रोगको जोखिम बढ्छ ।
प्रतिक्रिया