काभ्रेको महाभारतमा लागेको आगो अझै निभेन

काभ्रेको महाभारतमा लागेको आगो अझै निभेन


काठमाण्डु- काभ्रेको बेथानचोक गाउँपालिका र खानीखोला गाउँपालिकाको सिमानामा पर्ने महाभारत जंगल तीन दिनयता लागेको आगो अझै दन्किरहेको छ ।

उक्त जंगलमा आगो मङ्गलबार दिउँसोदेखि लागेको हो । वन्यजन्तु र वनस्पतिका लागि प्रख्यात मानिने उक्त जंगलमा लागेको आगो नियन्त्रणमा अझै आउन सकेको छैन ।

खानीखोला गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थिङका अनुसार अहिलेसम्म करिब १ किलोमिटर जंगल जलेर नष्ट भइसकेको छ । आगोले अन्य वन क्षेत्रमा समेत आगलागीको सम्भावित घटना हुनसक्ने भएकाले काभ्रेपलाञ्चोकको पर्यटकीय क्षेत्र नारायणस्थानमा जान रोक लगाइएको छ ।

आगलागीका कारण हाल बेथानचोकको पर्यटकीय क्षेत्र नारायणस्थान मन्दिरलगायत वडा नं १, २, ३ र ५ का केही क्षेत्रसमेत जोखिममा रहेको गाउँपालिकाले जनाएको छ । सोही कारण गाउँपालिकाले सार्वजनिक सूचनामार्फत पर्यटकीय क्षेत्र नारायणस्थानमा आन्तरिक तथा बाह्य पर्यटक र सर्वसाधारणलाई भ्रमणमा रोक लगाएको छ ।

जंगल विकट रहेका कारण आगो निभाउन किठनाइ भएको । आगलागी भएको स्थानबाट मानव बस्ती करिब चार किलोमिटरको दूरीमा छ । अहिलेसम्म भानवीय क्षति भएको छैन ।

यसैबीच जिल्लास्थित विपद् व्यवस्थापन समितिको बैठकले सरोकारवालासँग छलफल गरी सम्पूर्ण निकायको जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ ।
आगलागी नियन्त्रण नभएसम्म सो क्षेत्रमा नजान गाउँपालिकाले सूचना जारी गरेको गाउँपालिका अध्यक्ष भगवान अधिकारीले जानकारी दिए । उनका अनुसार स्थानीय सरकार, प्रहरी, नेपाली सेनालगायत सबै आगो नियन्त्रण गर्न लागिरहेका छन् । “हामीले आगलागी क्षेत्रमा उच्च सावधानी अपनाउन सम्बन्धित सबैका लागि जानकारी गराएका छौँ, अधिकारीले भने ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले आगलाती क्षेत्रतर्फ नेपाली सेना र प्रहरीका टोली पठाइएको बताए । उनका अनुसार सुरक्षाकर्मीले आगलागीको क्षेत्र तथा मानवबस्तीको अनुगमन गरी मानबस्तीतर्फ आगो आउन नदिनेगरी नियन्त्रणको पहल गर्न र क्षति हुने देखिए तत्काल स्थानान्तरण गर्न भनिएको छ ।

हाल आगलागी नियन्त्रणको अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । कार्यालयले आगलागी नियन्त्रणका लागि अवस्था अनुगमन गर्न पठाएको टोलीले वन क्षेत्र तथा मानवबस्तीको एकीन गरिरहेको वन कार्यालयका प्रमुख कृष्णबहादुर थापाले बताए । उनका अनुसार वनमा आगो फैलिरहेकाले नियन्त्रणका लागि जिल्लास्थित प्रशासन कार्यालय तथा सुरक्षा निकायको संयुक्त बैठकबाट वन डढेलो नियन्त्रण सामग्री भएसम्म सुरक्षाकर्मीलाई उपलब्ध गराउने, वन कार्यालयको संयोजकत्वमा १३ वटै स्थानीय तह सुरक्षा निकाय, वन उपभोक्ता महासङ्घसँग समन्यवमा डढेलो लगाउने व्यक्तिको पहिचान गरी कानुनी कारबाही गर्न सबडिभिजन कार्यालय र सुरक्षा निकायलाई निर्देशन दिइएको छ ।