काठमाण्डु- चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले दुर्गा प्रसाईको मेडिकल कलेज बी एन्ड सीका पक्षमा सर्वोच्च अदालतले आदेशले चिकित्सा शिक्षा ऐनको मर्ममा प्रहार गरेको बताएका छन् ।
केसीले मंगलबार एक विज्ञप्ति जारी गर्दै व्यवसायी प्रसाईको पक्षमा गरेको सर्वोच्चको निर्णयले चिकित्सा शिक्षा आयोगलाई निस्तेज तुल्याउने र मेडिकल शिक्षाको क्षेत्रमा अराजकतालाई बल पुग्ने बताएका हुन् । उक्त फैसलाको हालसम्म संक्षिप्त रूप पनि नआएकाले यसबारे अनेक आशंका देखिएको उनको भनाइ छ ।
‘यही संदिग्ध अर्थ लाग्ने फैसलामा टेकेर कसैले पनि ऐन उल्लंघन गर्ने काम गरेमा त्यो हामीलाई स्वीकार्य हुने छैन । ऐनप्रतिकूल फैसला आएको अवस्थामा सम्बन्धित निकाय तत्काल न्यायिक पुनरावलोकनमा जानुको विकल्प रहने छैन’, डा. केसीले भनेका छन् । सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चूडाल र सारंगा सुवेदीको इजलासले प्रसाईका पक्षमा रिट जारी गरेको थियो।
प्रतिक्रिया