इटहरी – कोशी प्रदेश सरकारका पूर्व मुख्यमन्त्री केदार कार्कीले जलाधार क्षेत्रको संरक्षणले सिंगो शहरलाई संरक्षण गर्न सकिने उल्लेख गरेका छन् ।
शनिवार हसिना सिमसार परिसरमा आयोजित बृहत् वृक्षारोपण कार्यक्रमलाई सम्बोधनका क्रममा उनले जलाधार र जंगल क्षेत्रको विनाशका कारण पानीका मुहान र स्रोत सुक्दै गएको बताए ।
‘हामीले जलाधार र जंगल क्षेत्रको संरक्षण गर्यौं भने धेरै तलसम्म पानीको स्रोतलाई जोगाउन सक्छौं । अहिले चुरे दोहनका कारण मधेश प्रदेशका विभिन्न ठाउँमा ४०० फिट खन्दा समेत पानी पाउन सकिरहेको अवस्था छैन,’ उनले भने ।
जंगल जंगल जस्तो नभएकाले जलवायु परिवर्तनको विकराल अवस्थासम्म आइपुुगेको उनले बताए । जनावरमैत्री जंगल अभियानमा समेत रहेका उनले जंगल क्षेत्रलाई संरक्षण गर्न सकेमा जलवायु परिवर्तनको संकटबाट बच्न सकिने उल्लेख गरे ।
कार्कीले असार २९ गतेदेखि ‘जसको जंगल, उसको मंगलका लागि जनावरमैत्री जंगल’ अभियान अन्तर्गत वृक्षारोपण सुरु गरेका थिए । त्यसअघि कार्कीले मुख्यमन्त्री रहँदा गत फाल्गुनमा ७ दिन झापाको बाहुनडाँगीदेखी उदयपुरको बेलसोत बजारसम्म २४३ किलोमिटर लामो ‘हात्ती प्रभावित क्षेत्रमा पदयात्रा’ गरेका थिए । विज्ञको टोलीसहित पैदल यात्रामा रहेका कार्कीले जंगलमा जनावरका लागि आहार र जनावरमैत्री जंगल नभएकाले जंगली जनावरले सर्वसाधारणलाई दुःख दिने गरेको निष्कर्ष निकालेका थिए ।
अभियान अन्तर्गत उनले आफ्नो नेतृत्वमा कोशी प्रदेशका जंगल क्षेत्रभित्र जंगल भित्रका जनवारका लागि आवश्यक फलफूल तथा रुख बिरुवा रोप्दै आएका छन् । शनिवार हसिना सिमसार परिसरमा भएको वृक्षारोपण नेपाली कांग्रेस सुन्दरहरैंचा ५ र नमूना सामुदायिक बनले आयोजना गरेका छन् ।
कार्कीले अभियानलाई आफू मुख्यमन्त्री हुँदै जनावरमैत्री जंगल निर्माणका लागि अभियान चलाएको तर अहिलेको सरकारले जंगल र जनावर र त्यस छेउका नागरिकहरूप्रति कुनै पनि नीति, कार्यक्रम तथा योजना नल्याएको भन्दै विरोध समेत जनाएका छन् ।
प्रतिक्रिया