काठमाण्डु – राष्ट्रियसभा बैठकले नवनिर्वाचित सदस्य डा खिमलाल देवकोटा प्रत्योजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा मनोनयन गरेको छ । राष्ट्रियसभाको आज बसेको बैठकले सरकारी आश्वासन समितिमा डा देवकोटा र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दृगनारयण पाण्डेयलाई मनोनयन गरेको हो ।
अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रियसभाअन्तर्गतका विषयगत समितिमा उनीहरुको नाम मनोनयनका लागि गरेको प्रस्तावमा बैठकले सर्वसम्मतिले सहमति जनाएको हो । त्यस्तै राष्ट्रियसभा बैठकमा दुई प्रतिवेदन पेश गरिएका छन् ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७६÷०७७’ सभासमक्ष पेश गरेका थिए ।
त्यसैगरी राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती) ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक प्रतिवेदनसभासमक्ष पेश गरेकी थिइन । राष्ट्रियसभाको अर्काे बैठक यही असार २३ गते दिउँसो १ बजे बस्नेछ ।




प्रतिक्रिया