काठमाण्डु- सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा सुरुङमार्ग ‘ब्रेक थ्रु’ अर्थात् छिचोलिने भएको दुई दिनपछि अर्को राष्ट्रिय गौरवको आयोजना पनि ब्रेक थ्रु हुने भएको छ ।
राष्ट्रिय गौरवको जोगवनी–किमाथाङ्का सडक सोमवार ‘ब्रेक थ्रु’ हुन लागेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सिद्धार्थ राजमार्गअन्तर्गत १ हजार १ सय २६ मिटर लम्बाइ भएको सिद्धबाबा सुरुङमार्गको भर्चुअल माध्यमबाट ‘ब्रेक थ्रु’ गरेका थिए ।
जोगवनी–किमाथाङ्का सडक ब्रेक थ्रु गर्ने अन्तिम तयारी भएको छ । सडक छिचोलिएपछि सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडक जोडिने छ ।
कोशी राजमार्गअन्तर्गतको खाँदबारी–किमाथाङ्का सडकअन्तर्गत च्याम्ताङ्ग घोङघोप्पा खण्डको साढे १० किलोमिटर सडक पूरा भएको छ । नेपाली सेनाले चट्टानी भिर फुटाइसकेको छ ।
ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले शुक्रबार हिमालय माविको हिरक महोत्सवको उद्घाटनका अवसरमा जोगवनी–किमाथाङ्का सडक छिचोलिएसँगै सडकको स्तरउन्नति र चौँडा बनाउने काम गरिने बताए ।
सदरमुकाम खाँदबारीबाट च्याम्ताङ्गसम्मको एक सय ३४ किलोमिटर सडक निर्माण भइसकेको छ । यसअघि नै किमाथाङ्काबाट घोङ्घोप्पासम्म १४ किलोमिटर सडकको कच्ची ट्र्याक खुलिसकेको थियो । खाँदबारी–किमाथाङ्का सडकको दूरी एक सय ५८ किलोमिटर रहेको उत्तर दक्षिण कोशी सडक योजनाले जनाएको छ ।
प्रतिक्रिया