खगराज भट्टलाई प्रश्न- पदको लागि राजनीति गर्नेलाई डडेल्धुरावासीले किन भोट दिने ? (अन्तर्वार्ता)


काठमाण्डु- डडेल्धुरामा संघ र प्रदेशसभाको निर्वाचनलाई चासोका साथ हेरिने गरिन्छ । डडेल्धुराबाट निरन्तर चुनाव जितेर पाँच पटक प्रधानमन्त्री बन्न सफल भएका शेरबहादुर देउवाको गृह जिल्लासमेत भएकाले पनि डडेल्धुराबाट को जित्ला भन्ने आम नागरिकको चासोको विषय बन्ने गरेको हो ।

 यस वर्षपनि यहाँको निर्वाचन सबैको रोचकको विषय बनेको छ । यस वर्ष डडेल्धुरामा संघ र प्रदेशसभाको निर्वाचन रोचक बन्नुको कारण, वर्तमान प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग तिन पटक चुनाव हारेका नेकपा माओवादी केन्द्रका नेता खगराज भट्टले उनकै लागि भोट माग्नु पनि हो ।

सुदूरपश्चिम माओवादी केन्द्रका इन्चार्जसमेत रहेका भट्टलाई सत्ता गठबन्धनले डडेल्धुराको क्षेत्र न. (क) बाट प्रदेशसभाको लागि उम्मेदवार बनाएको छ । उनलाई उम्मेदवार मात्र होइन देउवाले चुनाव जिते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बनाउने आश्वासनसमेत दिएका छन् । त्यसकारण पनि भट्ट देउवाको लागि भोट माग्दै हिडिँरहेका छन् ।

यता नेकपा एमालेले भने प्रतिनिधिसभाको लागि उम्मेदवारी दिएको छैन् । तर, भट्टलाई पराजित गर्ने रणनीतिका साथ एमालेले डडेल्धुराको क्षेत्र न. (क) बाट पूर्व विकास तथा भौतिक मन्त्री पठानसिंह बोहरालाई उम्मेदवार बनाएको छ ।

त्यसैले डडेल्धुरामा कसले जित्ला भन्ने आम चासोको विषय बनेको छ । प्रस्तुत छ संघ र प्रदेशसभाको निर्वाचनमा केन्द्रित रहेर खगराज भट्टसँग काठमाण्डुपाटीका लागि टक खातीले गरेको कुराकानीको सम्पादित अंशः

चुनावी अभियान कस्तो भइरहेको छ ? 

हामी घरदैलोमा छौँ, जनताहरूको बिचका सभाहरूमा, अन्तरक्रिया र अन्तर संवादमा छौँ, सानदार र उल्लासमय ढगंको परिवेशमा चुनावी अभियानमा छौँ ।

प्रदेशसभाको निर्वाचन अन्तर्गत डडेल्धुरामा दुईवटा निर्वाचन क्षेत्र छन् जसमध्ये तपाईँ (ख)को मान्छे (क)बाट चुनाव लड्दै हुनुहुन्छ । क्षेत्र नं. (क)बाट त तपाईँलाई चुनाव जित्न गारो होला नी ?

मेरा लागि सुदूरपश्चिमको कुनै पनि क्षेत्र बिरानो छैन् । म सुदूरपश्चिम माओवादीको इन्चार्ज पनि हुँ । सिंगो सुदूरपश्चिम बनाउनु पर्दछ । सुदूरपश्चिमलाई सुन्दर पश्चिम बनाउने मेरो लक्ष्य भएकाले त्यसकारण यहाँका हरेक क्षेत्र मेरा लागि आफ्नै क्षेत्र हुन् ।

भित्री मधेश मेरो जीवनको एउटा अविभाज्य र अखण्डित अंश हो । युद्धकालदेखि शान्ति कालसम्म मैले यहाँका जनताहरुसँग लामो अन्तर संवाद गरेको छु । यहाँका जनताको माया ममताका कारण मैले भौतिक जीवनको रक्षा गर्न सफल भएको छु ।

यसभन्दा अघिका निर्वाचनमा पनि यहाँका जनताहरुले मलाई अपार माया गरेका छन् । यहाँकै जनता र गठबन्धनका नेताहरूको आग्रहमा म उम्मेदवार भएको छु । त्यसकारण  अर्को क्षेत्रमा गयो भन्दैमा हारिहालिने भन्ने हुँदैन् । यहाँको बातावरण गठबन्धनको पक्षमा नै छ ।  

डडेल्धुरा (क) का धेरै जसाे बासिन्दाहरूले (ख)को मान्छेलाई हामी भोट दिदैनौँ हामी हाम्रै क्षेत्रको उम्मेदवारलाई जिताउँछौँ पनि भनिरहेका छन् । यसमा तपाईंको टिप्पणी के छ ? 

खै अहिलेसम्म हामी गाउँ, टोल र बस्तीमा जाँदा त्यस्तो आवाज त हामीले सुनेनौँ । यसभन्दा अघि चुनाव जितेकाहरुलेकेही गरेनन् अब तपाईँले चुनाव जित्यो भने के गर्नुहुन्छ ?, भोट माग्न मात्र हो की आउने, पछिपनि आउनुहुन्छ भन्ने प्रश्न भने धेरैले गरेका छन् । तपाईँ माथिको मान्छेलाई हामी भोट  दिदैनौ भन्ने त कतै सुनिएन । यो त केही प्रतिस्पर्धीहरूले चलाएको हल्ला  मात्रै हो ।

प्रदेश (क) बाट एमालेका पठानसिंह बोहरा पनि चुनावी मैदानमा हुनुहुन्छ । एमालेले उहाँलाई भावी मुख्यमन्त्रीका रूपमा हेरेको छ । तपाईँलाई त प्रधानमन्त्री देउवाले  मुख्यमन्त्री बनाउने आश्वासन दिइसक्नु भएको छ । तपाईँहरूको रणनीति भनेको जनताहरूलाई मुख्यमन्त्रीको लोभ देखाएर भोट बटुल्ने हो ? होइन भने गठबन्धनको बहुमत आउँछ भन्ने आधार के छ ?

पहिलो कुरा त नेपाली कांग्रेस देशकै पहिलो शक्ति र नेकपा माओवादी केन्द्र तेस्रो शक्ति हो । अब पहिलो र तेस्रो शक्ति मिल्यो भने चुनावमा बहुमत आउने कुरा स्वयम् सिद्ध तथ्य जस्तै हो ।

अर्को कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको असंवैधानिक कदम, अहंकार र निरंकुश कदमबाट सिंगो राष्ट्रका सचेत नागरिक उनको विरुद्धमा उभिएका छन् । उनी प्रतिगामी शक्तिसँगको गठबन्धनमा छन् । परिवर्तन विरोधीहरूको गठबन्धनमा छन् । हामी अग्रगामी र परिवर्तन चाहानेहरुसँग छौँ । त्यसकारण सत्ता गठबन्धनलाई जनताले भोटमात्र होइन बहुमतका साथ जिताउँछन् । 

तपाईंले प्रधानमन्त्री देउवासँग तीन पटक चुनाव हार्नुभयो । अहिले उहाँकै लागि मत माग्दा कस्तो महशुस भइरहेको छ ? 

उहाँले गरेको संवैधानिक व्यवस्थाको रक्षा र लोकतन्त्रलाई बचाउने क्रममा खेलेको भुमिकाप्रति म उहाँप्रति धेरै प्रभावित र कृतज्ञ छु । त्यसैले शेरबहादुर देउवासँग हिजो हामी फरक किसिमले प्रतिस्पर्धी भएपनि आज राष्ट्रको अभिभावकत्व ग्रहण गर्ने अवस्था उहाँको काधँमा आएको छ ।

संवैधानिक व्यवस्थाको रक्षा, राजनीतिक स्थिरता, सुसाशन, विकास र जनताको समृद्धिको कार्यान्वयन गर्न देउवाको आवश्यकता जनताले महसुस गरेका छन् । त्यसैले यो परिवेशमा मेरो हिजोको व्यक्तिगत अनुभवले कुनै अर्थ राख्दैँन । उहाँको विजय अपरिहार्य छ । त्यसकारण हामी उहाँलाई जिताउन हर्ष र उल्लासका साथ लागि रहेका छौँ । 

तपाईँ यसभन्दा अघि देउवाले डडेल्धुरामा केही पनि विकास गर्न सकेन अब मलाई भोट दिनुहोस भनेर तिन पटक चुनावी मैदानमा होमिएको मान्छे हो । अहिले डडेल्धुराको विकास नगर्ने नेताको लागि तपाईँ भोट माग्दै हिँडिरहनु भएको छ । यसको मतलब  तपाई जनताको लागि नभइ पदको लागि राजनीति गर्नुहुन्छ,  पदको लागि राजनीति गर्नेलाई जनताले भोट किन दिने ?

यसमा कुरो के हो भने । स्वभाविक रुपमा हिजो हामी प्रतिस्पर्धी थियौँ । एक अर्काका विरुद्ध हामीले आफ्ना एजेण्डा प्रस्तुत गरेका थियौँ । हिजो एउटा भिन्न परिवेश पनि थियो । हामी द्धन्दबाट भर्खर आएका थियौँ ।

त्यसबेला कांग्रेससँग तितो खालको सम्बन्ध थियो । त्यसकारण त्यतिबेला हामी चर्कोरूपमा  उहाँविरुद्ध उठेको कुरा पनि सत्य हो । तर व्यक्तिगत हिसाबले मैले उहाँलाई कहिले आरोप लगाएको छैन् ।

अहिले पनि हामीले के भनेका छौँ भने अझैँ विकास भएको छैन् । अर्को कुरा अहिले उहाँको नेतृत्वमा केही विकासका काम सुरुवात भएका छन् । जस्तै पश्चिम सेतिको कुरा, डडेल्लधुरामा मेडिकल  कलेज, एरर्पोट, महाकाली नदिमा मोटेरेबल पुल निर्माण गर्नेदेखिका थुर्पै काम उहाँले सुरुवात गर्नु भएको छ ।

 जुन हिजोको दिनमा उहाँले गर्नसक्नु भएन भन्ने कुरा उहाँले हल गर्दै पनि लग्नु भएको छ । हिजोको र आजको परिवेशमा भिन्न छ । त्यसैले सिंगो राष्ट्रको सपना र भबिश्यको अगाडि उहाँको व्यक्तिगत कमजोरिले कुनै स्थान राख्दैन । जनताको सुन्दर भविश्यको लागि सिंगो राष्ट्रले उहाँको आवश्यकता महशुस गरेको छ ।

डडेल्धुराबाट देउवाले चुनाव जित्ने सम्भावना कतिको छ ? 

अब देउवाको त विजय भइसकेको छ । घोषणा गर्नमात्र बाँकी हो । उहाँ असाधारण हिसावले जित्नुहुन्छ ।  नेपालको इतिहासमा सवैभन्दा ठुलो मतान्तरले जित्नुहुन्छ ।  हामी गठबन्धनका उम्मेदवार पनि सानदारका हिसाबले जित्छौँ ।

तपाईँले डडेल्धुराको चुनावी सभालाईँ सम्बोधन गर्ने क्रममा देशको प्रधानमन्त्री हेलिकोप्टर नचढी के ट्याक्टरमा चढेर आउँछन् भन्नुभएको थियो,  तपाईँको भनाइमा कुनै समस्या छैन तर आरजू राणाले हेलिकोप्टर चढेर आउनेलाईँ मात्रै भोट दिनुस् भन्नुभएको थियो, तपाईँ त उहाँले दिएको अभिब्यक्तिको बचाउ गर्नतर्फ लाग्नु भएछ नी ?

उहाँले साविक रुपमा के बोल्नुभयो भन्दापनि भाव हेर्नुपर्छ । उहाँले भन्नुभएको के हो भने देशको प्रधानमन्त्री हुने मान्छेलाई भोट दिनुपर्यो, देशको मुख्यमन्त्री हुने मान्छेलाई भोट दिनुपर्यो । त्यसपछि तपाईहरुका सपना र मागहरुलाई सम्बोधन गर्ने ठाउँ रहन्छ । उहाँले अरु पनि भन्नु भएको थियो ।

माटाेमा खेलेको गरिब मान्छे हो । तपाईँहरुकै कारणले हेलिकप्टर चडेर आउने हैसियत भएको छ । उहाँले भनेको शब्द चयन भन्दा पनि उहाँले भन्न खोजेको भावलाई बुझ्नुपर्यो । त्यसकाण आरजुजीले भनेको र मैले भनेको कुरा एउटै हो । अब मैले अलि प्रष्ट पार्ने हिसाबले बोलेको हुँ । उहाँले यथार्त बोल्नु भएको हो । 

डडेल्धुराको विकासका लागि तपाईँका मुख्य एजेण्डा के हुन् ?

डडेल्धुरा होइन सिंगो सुदूरपश्चिमको विकासका एजेन्डामा हामीसँग छन् । शिक्षा,स्वास्थ्य,कृषिको आधुनिकीकरण, सिचाइ, नदि नियन्त्रण र तटबन्धको विषयमा, रोजगारीको विषयमा हामीले घोषणा पत्र नै बनाएका छौँ । त्यसलाई हामी लागू गर्छौँ ।  

अन्तिममा केही भन्न चाहनुहुन्छ ? 

म सबैलाई यो लोकप्रिय अनलाइन मिडियामार्फत अनुरोध गर्दछु । प्रतिगमनकारी र अग्रगमनकारी, संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर र त्यसका विरोधी, एकताका पक्षधर र अहंकार पक्षधरमध्ये कसलाई चुन्ने भन्ने यो महासंग्राम हो ।

यसमा जनताले राष्ट्र र आफ्ना सन्ततीको भविष्यको लागि गठबन्धनलाई जिताउनु हुनेछ । गठबन्धन जितेन भने संवैधानिक व्यवस्थामै खतरामा छ । संवैधानिक व्यवस्था नै खतरामा गयो भने देश अराजकता, अस्थिरतातिर जान्छ । हामीले त्यसपछि युगौँसम्म पछुताउनु पर्ने परिवेश सिर्जना हुन्छ । त्यसकारण गठबन्धनका उम्मेदवारलाई जिताउन हार्दिक अनुरोध गर्नु चाहन्छु ।      

 

प्रतिक्रिया दिनुहोस
Advertisement