आजदेखि काठमाण्डुका यी ठाउँहरूमा भेरोसेलको दोस्रो डोज लगाइदै


काठमाण्डु- काठमाण्डु जिल्लामा शुक्रबारदेखि ३ दिनसम्म कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाइदै छ ।  जिल्ला स्वास्थ्य कार्यालयले प्रकाशित सूचना अनुसार भेरोसेलको पहिलो मात्रा लगाएका ५० वर्षभन्दा माथि उमेर समुहका नागरिक, विश्व विद्यालय र विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातका चालक, सहचालकले खोप पाउने भएका हुन् ।

त्यसैगरी नेपाल सरकारले तोकेको अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरु, खोप अनिवार्य गरिएका देशका देशमा जाने नेपाली नागरिक र यस अघि भेरोसेलको दोस्रो मात्रा लगाउन छुटेका नागरिकलाई दोस्रो मात्रा खोप दिन लागिएको जनाएको छ ।

काठमाण्डुका सबै वडा र स्थानीय तहका १ सय ४६ खोप केन्द्रमा गएर खोप लगाउन सकिनेछ । राधास्वामी आइसोलेशन सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताल, परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र नेपाल प्रहरी अस्पतालमा गएर पनि दोस्रो डोज लगाउन सकिने जनाइएको छ । भेरोसेलको दोस्रो डोज खोप लगाउन पहिलो डोज खोप लगाएको कार्ड लिएर जानुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement