खोटाङमा कोरोना संक्रमण ग्राफ दिनानुदिन बढ्दै, एकै दिन थपिए ३४ संक्रमित


खोटाङ – खोटाङमा कोभिड–१९ को संक्रमण ग्राफ दिनानुदिन उकालो लागिरहेको छ । मंगलबार थप जनाको गरिएको एन्टीजेन परीक्षण गर्दा थप ३४ जनालाई कोभिड–१९ को संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय खोटाङका कोभिड फोकल पर्सन भीष्म पाण्डेले जानकारी दिए।

यससँगै जिल्लामा कोभिड–१९ को तेस्रो लहरमा संक्रमित हुनेको संख्या १४७ पुगेको छ । सक्रिय संक्रमित होमआइसोलेसनमा बसिरहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिकामा मात्र मंगलबार ५७ जनाको एन्टीजेन परीक्षण गर्दा २८ जनालाई संक्रमण देखिएको हो । दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिकामा मात्र हालसम्म सक्रिय संक्रमितको संख्या एक सय पुगेको छ । हालसम्म तीन जनाले कोरोना संक्रमण जितेको नगरपालिकाले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लाका १ लाख १२ हजार ८ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । त्यसमध्ये ६६ हजार ६१२ जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन् ।

कोभिड महामारीको सुरुवातदेखि हालसम्ममा जिल्लामा कुल संक्रमितको संख्या ३ हजार २०९ पुग्दा ३ हजार ४४ निको भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कोभिड–१९ को पहिलो र दोस्रो लहरमा जिल्लाका १५ जनाले ज्यान गुमाएका थिए ।

जिल्लामा महामारीमा उपयोगका लागि जिल्ला अस्पताल सहित ७ अस्पतालमा २३४ बेड उपलब्ध छ । यस्तै, १ थान भेन्टिलेटर, ७ वटा एम्बुलेन्स, २०० थान अक्सिजन सिलिन्डर र ३७ थान अक्सिजन कन्सन्ट्रेटर रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लामा पछिल्लो समय दिनानुदिन कोभिड–१९ को संक्रमण दर वृद्धि हुँदै गए पनि स्वास्थ्य सुरक्षाको मापदण्ड पालनामा भने बेवास्ता भइरहेको छ । जिल्लाका १० स्थानीय तहमध्ये अधिकांशले कोरोना संक्रमणको नियमित परीक्षणको व्यवस्था गर्न सकेको छैन । संक्रमण बढिरहेका बेला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement