प्रिसा मृत्यु प्रकरण : छानबिनका लागि परराष्ट्रले थाल्यो कूटनीतिक पहल

प्रिसा मृत्यु प्रकरण : छानबिनका लागि परराष्ट्रले थाल्यो कूटनीतिक पहल

केआईआईटीलाई तत्काल कडा कारबाही गर्न एबीभीपीको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भारतको ओडिसाको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिशा साहको मृत्युको विषयमा नेपालको परराष्ट्र मन्त्रालयले छानबिनका लागि कुटनीतिक पहल सुरु गरेको छ ।

यसका लागि मन्त्रालयले भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारी र दिल्लीस्थित नेपाली दूतावासमार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको हो ।

परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरू र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको जानकारी दिएकी छिन् ।

घटनाबारे जानकारी प्राप्त भएपछि उनले घटनाको छानबिनका लागि नेपाल सरकारले कुटनीतिक पहल सुरु गरिसकेको सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिएकी हुन् ।

परराष्ट्रमन्त्री राणाले यो घटनाले निकै मर्माहित बनाएको भन्दै सामाजिक लेखेकी छन्, ‘प्रिशाको आत्माको चीर शान्तिको कामना गर्दै यस दुःखद घडीमा उनको परिवाजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

‘परराष्ट्र मन्त्रालयले घटना लगत्तै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरु र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानविन गर्न कूटनीतिक पहल थालेको छ’, उनले लेखेकी छिन् ।

पर्साको वीरगञ्जकी प्रिसा विहीबार राति आफ्नै होस्टेल कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । १८ वर्षीया उनी बीटेक साइन्सकी विद्यार्थी थिइन् । उनको शव पोष्टमार्टमका लागि अस्पताल पठाइएको छ । परिवारका सदस्यहरू त्यहाँ पुगेपछि मात्र पोष्टमार्टम गरिनेछ ।

उडिसाका प्रहरी आयुक्त एस देव दत्त सिंहले विद्यार्थीको मृत्युको बारेमा दिल्लीस्थित नेपाली दूतावासलाई जानकारी गराइएको बताए । यसबारे प्रिसाका आमाबाबुलाई पनि जानकारी गराइएको छ । उनीहरू शुक्रबार भुवनेश्वर पुग्दैछन् । यसपछि मात्र पोस्टमार्टम गरिनेछ । प्रारम्भिक अनुसन्धानमा यो घटना आत्महत्याको देखिएको सिंहले बताए ।

प्रहरीले बताएअनुसार होस्टेलका अधिकारीहरूले बिहीबार साँझ करिब ७ बजे विद्यार्थीहरूको हाजिरी लिइरहेका थिए । जब उनीहरूले कोठा नम्बर १११ को ढोका ढकढक्याए, भित्रबाट कुनै प्रतिक्रिया आएन । शंका लागेपछि उनीहरूले प्रहरीलाई खबर गरे । प्रहरीले होस्टेलको कोठा खोल्दा प्रिसाको शव पंखामा झुण्डिएको थियो ।

यसअघि ४ फागुनमा पनि केआईआईटीमा अध्ययनरत २० वर्षीया नेपाली विद्यार्थी प्रकृति लम्साल होस्टलमा मृत फेला परेकी थिइन् ।

उनले पनि आत्महत्या गरेकी थिइन् । आफूमाथि मानसिक दुव्र्यवहार र ब्ल्याकमेल भएकोबारे उनले दुई पटक कलेज प्रशासनमा उजुरी दिएकी थिइन् । तर, कलेजले गम्भीरतापूर्वक नलिँदा उनले मृत्युको बाटो रोजेकी थिइन् ।

उनको मृत्युलाई लिएर कलेजका अन्य अन्तर्राष्ट्रिय विद्यार्थीहरूले विश्वविद्यालय प्रशासनविरुद्ध विरोध प्रदर्शन गरेका थिए ।

यसबीच भारतको सबैभन्दा ठूलो विद्यार्थी संगठन अखिल भारतीय विद्या परिषद् (एबीभीपी)ले केआईआईटीमा नेपाली विद्यार्थी प्रिशा शाह मृत भेटिएको घटनालाई अत्यन्त पीडादायी भनेको छ ।

एबीभीपीले विज्ञप्ति निकाल्दै केआईआईटीमा पुनः एकपटक नेपाली विद्यार्थीले आत्महत्या गर्न बाध्य हुनु घिनलाग्दो र लज्जास्पद भएको जनाएको छ ।

यस्तो घटना बारम्बार हुँदा पनि राज्य सरकार किन मौन छ भन्ने प्रश्न गर्दै एबीभीपीका राष्ट्रिय महासचिव वीरेन्द्र सिंह सोलाङ्कीले केआईआईटीविरूद्ध तत्काल कडा कारबाही गर्न राज्य सरकारसँग माग गरेको छ ।

एबीभीपी भारतीय सत्ताधारी दल भारतीय जनता पार्टीको मातृसंस्था राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को विद्यार्थी संगठन हो ।