काठमाण्डु– नर्वेका राजा हेरल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन भएको छ ।
तीन दशकभन्दा लामो समय नर्वेको राजगद्दी सम्हालेका हेरल्डको शुक्रबार बिहान ओस्लो विश्वविद्यालयअन्तर्गतको एक अस्पतालमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
राजदरबारका अनुसार स्थानीय समयअनुसार बिहान ६ बजेर ३५ मिनेटमा उनको निधन भएको हो ।
सन् १९९१ मा राजगद्दी सम्हालेका हेरल्डले नर्वेको राजसंस्थालाई बदलिँदो समाजसँग जोड्ने प्रयास गरेका थिए ।
औपचारिक राष्ट्रप्रमुखको जिम्मेवारीमा रहे पनि उनी परम्परागत राजकीय शैलीभन्दा सबैसँग सहज रूपमा घुलमिल हुने व्यवहारका कारण जनतामा लोकप्रिय थिए ।
उनको सार्वजनिक जीवनको विशेष पहिचान भने संकटका बेला देखिन्थ्यो । प्राकृतिक विपद् होस् वा राष्ट्रिय त्रासदी, हेरल्ड दरबारमा सीमित रहने राजा थिएनन् ।
बाढी, आँधीबेहरीलगायत विपद्बाट प्रभावित नागरिकलाई भेट्न उनी सामान्य पोसाकमै घटनास्थल पुग्ने गर्थे । घरबार गुमाएका वा आफन्त गुमाएका नागरिकसँग प्रत्यक्ष भेटेर उनी दुःखमा सहभागी हुन्थे ।
ब्रिटेनकी महारानी भिक्टोरियाका पनाति हेरल्ड सन् १९९१ मा आफ्ना पिता ओलाभ पाँचौँको निधनपछि राजा बनेका थिए ।
लामो शासनकालमा उनले नर्वेको राजसंस्थालाई आधुनिक बनाउने क्रममा परम्परा र परिवर्तनबीच सन्तुलन कायम गर्ने प्रयास गरे ।
नर्वेली राजसंस्थाको औपचारिक भूमिकाभन्दा बाहिर गएर नागरिकको दुःखमा प्रत्यक्ष सहभागी हुने उनको शैलीले उनलाई विशेष रूपमा लोकप्रिय बनाएको थियो ।
अब उनको निधनसँगै नर्वेले लामो समयदेखि परिचित रहेको त्यही सहज र जनतासँग नजिकको राजकीय व्यक्तित्व गुमाएको छ ।




प्रतिक्रिया