काठमाण्डु– दुई दिनदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंहको अवस्था पत्ता नलागेपछि अनुसन्धानका लागि काठमाण्डुबाट केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को टोली जाने भएको छ ।
निर्माणाधीन कृषि फर्ममा जाने भन्दै शुक्रबार दिउँसो घरबाट हिंडेका सिंहको अवस्था हालसम्म अज्ञात छ ।
सिंहको खोजीमा शुक्रबार साँझबाटै बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
स्थानीयले पनि खोजी गरिरहेका छन् । लुम्बनी प्रदेश प्रहरी कार्यालय प्रमुख डिआईजी भुपेन्द्र खत्रीले अनुसन्धानका लागि सिआईबीको विशेषज्ञ टोली आउन लागेको जानकारी दिए ।
‘सिआईबीलाई पत्राचार गरिसकेका छौं’, खत्रीले काठमाण्डु पाटीसँग भने, ‘सायद आजै (आइतबार) साँझसम्म सिआईबीको टोली आइसक्छ होला ।’ घटना थप रहस्यमय बन्दै गएकाले फरक पाटोबाट अनुसन्धान गनुपर्ने भएको खत्रीले जानकारी दिए ।
सिंहले शुक्रबार साँझ निकट व्यक्तिहरुलाई टेलिफोन गरी सँग जंगलमा हराएकाले बचाइदिन भनेका थिए । त्यसयता उनको मोबाइलको स्वीच अफ छ ।
उनी सवार लु।प्र।०१०१३ प ७९७० नम्बरको मोटरसाइकल भने गोरुसिंगे जंगलको बीचमा सडकमा भेटिएको छ ।
मोटरसाइकल भेटिएको स्थान पूर्व–पश्चिम राजमार्गबाट करिब ८ किलोमिटर भित्र पर्छ । सिंह अघिल्लो कार्यकालमा नेपाली काँग्रेसबाट कपिलवस्तुको मेयरमा निर्वाचित भएका थिए ।




प्रतिक्रिया