काठमाडौं महानगरको निर्णय : थप ब्रुमर किन्ने, सार्वजनिक शौचालय बनाउने


काठमाडौं— ब्रुमर खरिद प्रक्रिया अगाडि बढाउने, सार्वजनिक शौचालय र यात्रु प्रतिक्षालय निर्माण, सञ्चालन तथा व्यवस्थापनका काम प्रमुख बिद्यासुन्दर शाक्य आफैंले हेर्ने लगायत निर्णय गर्दै महानगरको ३२ औं कार्यपालिका बैठक सम्पन्न भएको छ ।

बिहीबार महानगरको केन्द्रीय कार्यालय रहेको जेडिए भवनको सभा कक्षमा प्रमुख शाक्यको अध्यक्षतामा सम्पन्न बैठकले — फोहोर व्यवस्थापनका लागि बिक्री हुने कम्पोष्ट बिनमा ७० प्रतिशत अनुदान दिएर बिक्री गर्ने, मानव सेवा आश्रमलाई सडकमा रहेका असहायको व्यवस्थापनमा प्रयोग गर्ने गरी सवारी साधन खरिद गर्न सहयोग गर्ने निर्णय गरेको छ । त्यस्तै अमेरिकाको कोलोराडो राज्यमा रहेको बोल्डर नगरसँग भगिनी सम्बन्ध स्थापना गर्न सहमति दिएको छ ।

कार्यपालिका बैठकमा, आजैबाट बिघटन गरिएको सार्वजनिक शौचालय र यात्रु प्रतिक्षालय निर्माण, सञ्चालन तथा व्यवस्थापनका लागि गठित अधिकार सम्पन्न समितिकी संयोजक तथा उपप्रमुख हरिप्रभा श्रेष्ठ खड्गीले अहिलेसम्म सम्पन्न गरेका कामको प्रतिबेदन र सार्वजनिक शौचालय मापदण्डको मस्यौदा प्रमुख शाक्यलाई बुझाइन्। नगर कार्यपालिकाको २८ औं बैठकले उपप्रमुख श्रेष्ठ खड्गीको संयोजकत्वमा प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोल र वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जन सदस्य रहेको दुई छुट्टाछुट्टै अधिकार सम्पन्न समिति गठन गरेको थियो ।

स्मार्ट सार्वजनिक शौचालय बनाउन उपयुक्त ठाउँको पहिचान गर्ने, स्थान अनुसारको डिजाइन एकिन गर्ने, प्रस्तावहरुको विश्लेषण गर्ने, उपयुक्त स्थान र डिजाइनमा तयार भएको प्रस्ताबबमोजिम निर्माण तथा सञ्चालन गर्न निर्णय गराउने समितिलाई जिम्मेवारी दिइएको थियो ।
समितिले अहिलेसम्म गरेका कामको बिषयमा जानकारी गराउँदै बैठकमा उपप्रमुख श्रेष्ठ खड्गीले — महानगरभित्र २८४ वटा सार्वजनिक शौचालय सञ्चालन गर्न सकिने प्रारम्भिक अध्ययनमा देखिएको बताए । तर शौचालय चलाएर न्युनतम आवश्यकता पूरा गर्न,सबैको समान सहभागिता आवश्यक पर्ने बताए।

त्यस्तै समितिका सदस्य एवं महानगरका प्रवक्ता ईश्वरमा डंगोलले भने, ‘व्यापार हुने ठाउँमा शौचालय चलाउनेको हानाथाप छ, कम व्यापार हुने ठाउँमा लगानी पनि छैन । व्यवस्थापन पनि छैन । यो अवस्थामा सुधार गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement