कोरियन भाषा परीक्षा उत्तीर्णको स्वास्थ्य परीक्षण भदौ ४ बाट सुरु


काठमाडौं – सन् २०१९को लागि ईपीएस कोरियन भाषा परीक्षा उत्तीर्ण गरेकाहरुको स्वास्थ्य परीक्षण भदौ ४ गतेबाट सुरु हुने भएको छ । उनीहरुको स्वास्थ्य परीक्षण राजधानीका ४ वटा अस्पतालबाट गर्ने व्यवस्था मिलाइएको छ ।

यो वर्ष ७ हजार ९९६ जना भाषा परीक्षा पास भएका छन् । उनीहरुको स्वास्थ्य परीक्षण शुक्रराज ट्रपिकल अस्पताल, निजामति अस्पताल, नेपाल कोरियामैत्री अस्पताल र पाटन अस्पतालमा हुने ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिए ।

स्वास्थ्य परीक्षणमा पास भएका र उपयुक्त प्रहरी रिपोर्ट आएकाहरुले भदौ ८ गतेबाट रोजगार आवेदन फारम भर्न पाउनेछन् । ८ गतेबाट लगातार ८ दिनसम्म फारम भरिने उनले जानकारी दिए ।

आवेदन फारम भरेकाहरुको नाम कोरियाले प्रमाणित गरेपछि रोष्टरमा चढ्नेछ । त्यसपछि मात्रै कोरियन रोजगारदाताले उनीहरुको छनोट गर्न सक्छन् । आगामी जनवरीबाट मात्रै यो वर्ष पास भएकाहरु जान पाउने भण्डारीले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement