प्रहरीसँग जनताको भरोसा टुट्योः कोमल वली


काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद कोमल वलीले प्रहरी–प्रशासनसँग जनताको भरोसा टुटेको बताएकी छन् ।

आइतवार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद वलीले बैतडीमा आफ्नो जग्गामा सडक बनाउन रोक्दा डोजरको बकेटले महिलालाई हानिएको र छोरीले नै सुपारी दिएर आमाको हत्या गरेको प्रसंग निकाल्दै अपराधले सीमा नाघ्दै गएको जिकिर गरेकी हुन् ।

‘नदीको स्रोत दुरुपयोग रोक्न खोज्दा धनुषमा टिपर चलाएर युवकको हत्या गरिएको छ । क्रसर उद्योगहरुले प्रकृतिको जथाभावी दोहन गरिरहेका छन्’, उनले भनिन्, ‘जहाँ पायो त्यहाँबाट ढुंगा गिट्टी निकाल्नु हुँदैन । धनुषाका अपराधीलाई मात्रै होइन, अरु मान्छे पनि यस्ता अपराधमा संलग्न छन् । तर सरकारले किन कारवाही नगरेको ?’

सांसद वलीले देशमा प्रहरी–प्रशासनसँग भय हराएको दाबी गरिन् । ‘पुलिस–प्रशासनसँग भय पनि छैन, विश्वास पनि छैन’, उनले भनिन्, ‘भय र विश्वासबिनाको पुलिस–प्रशासन रहँदा भोलिको अवस्था के होला ?’

सांसद वलीले सर्वसाधरणमाथि अन्याय भइरहँदा न्याय पाइन्छ भन्ने आश नै हराएको उल्लेख गरिन् । ‘अब त न्याय पाइन्छ भन्ने आश नै हरायो’, उनले भनिन्, ‘जनतालाई सुरक्षानिकायको त्रास र आश दुवै चाहियो । यस्ता घटना नियन्त्रण गर्न कडा कानुन चाहियो । आगामी दिनमा यस्ता घटना हुन नदिन कानुन चाहियो ।’

सांसद वलीले क्रसर उद्योगका लागि निश्चित मापदण्ड भए पनि कतै पालना नभएको बताइन् । ‘खोला र बस्तीका बीचमा क्रसर उद्योग छन् । त्यसले बालबालिकालाई असर गरेको छ’, उनले थपिन्, ‘जथाभावी उत्खननले खोलाका मुहान सुकेका छन् । चुरे–महाभारत मासिएको छ । यसलाई सरकारले कहिले नियमन गर्ने हो?’ उनले इतिहासका धेरै कुरा आलोचना बाहिर हुनुपर्ने जिकिर गरिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement