जलवायु परिवर्तन र शासन प्रणालीबारे कोशी र मधेश प्रदेशमा बहस

जलवायु परिवर्तन र शासन प्रणालीबारे कोशी र मधेश प्रदेशमा बहस


काठमाण्डु – नेपालमा क्रियाशील ग्लोबल सेन्टर फर क्लाइमेट एण्ड सेक्युरिटी गर्भनेन्सले नेपालमा जलवायु परिवर्तन र शासन प्रणालीका विविध पक्षबारे सरोकारवालासँग प्रदेश तहमा अन्तक्र्रिया आयोजना गरेको छ ।

जलवायु परिवर्तनको क्षेत्रमा शासन प्रणालीलाई सबल बनाउने तथा यसबारे थप पहलका लागि पैरवी गर्न प्रदेश सभाका सांसद, नागरिक समाज, प्राज्ञिक क्षेत्र र सुरक्षा निकायका प्रतिनिधिको सहभागितामा अन्तर्क्रिया कार्यक्रम गरिएको आयोजक संस्थाले जनाएको छ ।

संस्थाका कार्यकारी निर्देशक अभयराज जोशीका अनुसार पछिल्लोपटक मधेश प्रदेशको धनुषा र कोशी प्रदेशको इटहरीमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरिएको छ ।

अन्तक्र्रियामा जलवायु परिवर्तनको क्षेत्रमा शासन प्रणालीको महत्त्व तथा मुख्य सरोकारवाला पक्षबीचको सहकार्य र समन्वयबारे केन्द्रित रहेर बहस गरिएको थियो । मधेश प्रदेशको अन्तर्क्रियामा वातावरण र दीगोपन सम्बन्धी विषयका विज्ञ देवनारायण मण्डल र कोशी प्रदेशको अन्तर्क्रियामा विज्ञ दीपकविक्रम थापा क्षेत्रीले विपद् र जलवायु परिवर्तनको सन्दर्भमा सुरक्षाको मामिलाबारे प्रस्तुती राखेका थिए । दुवै प्रदेशको अन्तर्क्रियामा पूर्व सांसद डा. दीपकप्रकाश भट्टले जलवायु परिवर्तनको सन्दर्भमा नीति–निर्माण प्रक्रियामा अन्तर्राष्ट्रिय अभ्यास र सांसदको भूमिकाबारे विविध विषय प्रस्तुत गरेका थिए ।

संस्थाले कर्णाली र सुदूरपश्चिम प्रदेशमा बहस र अन्तक्र्रिया कार्यक्रम गरिसकेको छ ।