कोशीमा सभामुखलाई राजीनामा दिन लगाएर सरकार गठन गर्ने गठबन्धनको तयारी


काठमाण्डु- सत्तारुढ दलहरुले कोशीमा फेरि नयाँ सरकार गठन गर्न कसरत गरिरहेका छन् । गत बिहीबार सर्वोच्च अदालतले कोशी प्रदेश सरकार असंवैधानिक भएको फैसला सुनाएसँगै सत्तारुढ दलबीच फेरि पनि गठबन्धनकै सरकार गठन गर्ने सहमति जुटेको हो।

शनिबार बालुवाटार बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डबीच भएको छलफलमा प्रदेश सभामुख बाबुराम गौतमलाई राजीनामा दिन लगाएर भए पनि गठबन्धनको नेतृत्वमा सरकार गठन गर्ने सहमति जुटेको थियो ।

सभामुखलाई राजीनामा गराएपछि मुख्यमन्त्रीमा उद्धव थापालाई निरन्तरता दिने वा अरु कसैलाई बनाउने भन्नेबारे भने सत्ता गठबन्धनबीच सहमति जुटेको छैन । कोशीमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि सरकार गठनमा भाग दिने गरी छलफल गर्ने तयारी गठबन्धनको छ ।

९२ सदस्यीय कोशी प्रदेशसभामा बहुमतका लागि सभामुख गौतमको हस्ताक्षर गराएर नियुक्ति भएका थापाले ४७ संख्यासहित सरकार गठन गरेका थिए। तर, निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले २२ असारमा सर्वोच्चमा सभामुख गौतमको हस्ताक्षरबाट सरकार गठन अवैधानिक भएको दाबीसहित रिट हालेपछि सर्वोच्चका तीन न्यायाधीले थापाको नियुक्ति अवैधानिक घोषणा गरेको थियो।

सर्वोच्चको आदेशपछि प्रदेश प्रमुख खापुङले शुक्रबार दलहरुलाई पाँचदिने समय दिएर सरकार गठनका लागि आह्वान गरेका छन् । मंगलबार बेलुकी ५ बजेभित्र दलहरुले सरकार गठनका लागि दाबी पेस गरिसक्नुपर्नेछ।

९३ सदस्यीय कोशी प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका सभामुखसहित १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा (एकीकृत समाजवादी) का चार र जनता समाजवादी पार्टीका एक सांसद छन्। कोशीमा सभामुखबाहेक सत्ता गठबन्धनका ४६ र एमाले, राप्रपा गरेर ४६ सांसद संख्या छ। बहुमतको सरकार गठनका लागि ४७ सांसद हुनुपर्ने कानुनी व्यवस्था छ।

यो पनि पढ्नुहोस्, कोशीमा कसको नेतृत्वमा बन्ला सरकार ?

प्रतिक्रिया दिनुहोस
Advertisement