प्रतिपक्षीको बहिष्कारपछि कोशी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित


विराटनगर – मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिएपछि पहिलोपटक आज बुधवार बसेको प्रदेशसभा बैठक प्रतिपक्षी दल नेकपा एमाले र राप्रपाले बहिष्कार गरेका छन् ।

प्रतिपक्षी दलको बहिष्कारपछि कोशी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।

सभाध्यक्ष इसराइल मन्सुरीले बैठकको अध्यक्षता गरेलगत्तै एमाले र राप्रपाका प्रदेशसभा सदस्यले उभिएर विरोध गरेका थिए ।

प्रतिपक्षी सांसदहरू सभाध्यक्षविरुद्ध नाराबाजी गर्दै बैठक कक्ष छाडेर बाहिरिएपछि मन्सुरीले अर्को सूचना जारी नभएसम्म अनिश्चितकालका लागि बैठक स्थगित गरेका छन् ।

मुख्यमन्त्री उद्धव थापाले सोमवार विश्वासको मत लिएका थिए, जसमा सभाध्यक्ष मन्सुरीले पनि विश्वासको मत दिएका थिए ।

यसैबीच, कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश सभामा विश्वासको मत लिँदा देखिएको विवाद फेरि सर्वाेच्च अदालत पुगेको छ । नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मत कार्की रिट निवेदन बोकेर सर्वाेच्च अदालत पुगेका छन् ।

विश्वासको मत लिने प्रस्तावमाथि छलफल भइरहेको प्रदेशसभा बैठकका सभाध्यक्ष इसराइल मन्सुरीले समेत मुख्यमन्त्री थापालाई विश्वासको मत लिएपछि विवाद उत्पन्न भएको हो । एमालेले तत्कालै नाराबाजी गरेपछि सभाध्यक्ष मन्सुरीले नाराबाजीकै बीचमा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त भएको घोषणा गरेका थिए ।

यसअघि तत्कालीन सभामुख बाबुराम गौतम समेतको हस्ताक्षर लिएर मुख्यमन्त्रीमा थापा नियुक्त भएपछि सर्वाेच्च अदालतले नै नियुक्ति बदर गरिदिएको थियो । त्यसपछि सभामुख गौतमलाई राजीनामा गराएर दाबी पेश गर्न आवश्यक संख्या पुर्‍याई सरकार गठन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement