कोशीमा एमाले अध्यक्ष ओलीलाई निषेध गर्न खोजिएको भन्दै आपत्ति


विराटनगर – कोशी प्रदेशको क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई निषेध गर्न खोजिएको भन्दै आपत्ति प्रकट भएको छ ।

बुधबारको कोशी प्रदेशसभा बैठकमा दलको तर्फबाट विशेष समय लिएर बोल्दै एमाले सांसद तिलकुमार मेन्याङ्बोले मुलुकका पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्षलाई प्रवेशमै निषेध गरिनेछ भन्ने चर्चा दुःखद् र संविधानविरोधी कदम भएको बताए ।

सुदूरपश्चिमको झुलाघाटबाट सुरु भएको एमालेको संकल्प यात्रा यतिबेला लुम्बिनी प्रदेशमा पुगेको छ । यात्रा कोशी प्रदेशको चिवाभञ्ज्याङमा पुगेर समापन गर्ने योजना रहेको छ । यस्तै बेला कोशी प्रदेशको पुनः नामकरण गर्नुपर्ने भन्दै आन्दोलनरत संघसंस्थाले ओलीलाई प्रवेश निषेध गर्ने चर्चा थालिएपछि सांसदले आपत्ति जनाएका छन् ।

‘मुलुकभित्रै आवतजावत गर्न पनि निषेध गरिनेछ भन्ने चर्चा दुःखद छ । यस किसिमको अलोकतान्त्रिक कदम अगाडि नबढाउन म आग्रह गर्दछु,’ मेन्याङ्बोले भने ।

कोशी नाम खारेजीको माग गर्दै प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संंघर्ष समितिले कोशी नामका पक्षमा मतदान गर्ने प्रदेशका नेताहरूलाई विभिन्न ठाउँमा प्रवेश निषेध गर्ने चेतावनी दिने गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement