काठमाण्डु- ताप्लेजुङमा केबलकार निर्माणको विरोधमा पूर्वका ९ जिल्लामा दुई दिने यातायात बन्दको प्रभाव आइतबार सामान्य देखिएको छ ।
मुकुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले आह्वान गरेको बन्दका कारण राजमार्गमा ठूला यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा आएका छैनन् । तर, साना सवारी साधनहरू भने चलिरहेका छन् ।
झापा, मोरङ, सुनसरी, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, इलाम र पाँचथर जिल्लामा दुई दिने बन्द आह्वान गरिएको छ । बन्दको सबैभन्दा बढी प्रभाव ताप्लेजुङमा परेको छ । केही स्थानमा बन्दकर्ताहरू सडकमा उत्रिएका छन् ।
केबलकार निर्माणको निर्णय खारेजीदेखि, पक्राउ परेका नेता कार्यकर्ताको रिहाई, मुकुम्लुङमा भएको गोली प्रकरणको न्यायिक छानबिन र काफ्ले पार्टीबाट सुरक्षा फौज फिर्ताको माग राख्दै संघर्ष समिलिे बन्द गरेको हो ।
प्रहरीका अनुसार अधिकांश जिल्लामा बन्दको प्रभाव सामान्य रहे पनि केही स्थानीय बजार र सडक यातायात प्रभावित भएका छन् ।
कोशी प्रदेश प्रहरी प्रवक्ता भीम दाहालका अनुसार बन्दको प्रभाव ताप्लेजुङमा छ । अन्य जिल्लामा भने बन्दको प्रभाव सामान्य मात्र परेको उनले बताए । ‘केही ठाउँमा बन्दकर्ता सडकमा निस्किएका छन्,’ उनले भने,‘ यातायातका साधन केही चलेका छन् ।’
पूर्वपश्चिम राजमार्ग र मेची राजमार्गमा बन्दको प्रभाव बढी छ । दुवै सडकमा यात्रुबाहक बस चलेका छैनन् । ठूला चोकहरूमा बन्दकर्ताहरु भेला भएका छन् ।
प्रतिक्रिया