सरकार गठन भएको चार दिन नबित्दैँ कोशीमा गठबन्धनभित्र खटपट


काठमाण्डु- कोशी प्रदेशमा नयाँ सरकार गठन भएको चार दिनमै सत्ता गठबन्धनभित्र खटपट सुरु भएको छ । असार २१ गते मुख्यमन्त्रीमा नियुक्त भएका उद्धव थापाले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्न लाग्दा सत्ता गठबन्धनभित्र खटपट सुरू भएको हो ।

नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्रीले सहमतिविपरीत मन्त्रिपरिषद् विस्तार गर्न लागेको भन्दै आपत्ति जनाएको छ। नेकपा एसले आज भएको मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम पनि बहिस्कार गरेको छ । सरकार गठनपूर्व गठबन्धनका दलहरूबाट सुरुमा एक एक जना मन्त्री बनाउने सहमति भएको तर, अहिले कांग्रेस र माओवादीबाट दुई दुई जनालाई मन्त्री बनाएको भन्दै नेकपा एस असन्तुष्ट बनेको हो ।

आज विस्तार हुने मन्त्रिपरिषद‍्‍मा माओवादी केन्द्रबाट जीवन आचार्य र राजेन्द्र कार्की मन्त्री बनेका छन्। कांग्रेसबाट भने रामकुमार खत्री मन्त्री बनेका छन्। यसअघि शुक्रबार गठन भएको मन्त्रिपरिषद्‍मा नेपाली कांग्रेसका प्रदीप सुनुवार र नेकपा एकीकृत समाजवादीका कमल जवेगुले मन्त्रीको शपथ लिएका थिए। मुख्यमन्त्री थापाले मन्त्रिपरिषद् विस्तार गरी ६ सदस्यीय बनाएका छन् ।

गठबन्धनमा छलफल नै नगरी कांग्रेस र माओवादीले मन्त्री पठाएका कारण आजको शपथ ग्रहण कार्यक्रम बहिस्कार गरेको नेकपा एसले जनाएको छ ।
कांग्रेस संसदीय दलका नेता थापालाई मुख्यमन्त्री बनाउन कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपाले हस्ताक्षर गरेका थिए। मुख्यमन्त्री दाबीका लागि बहुमत नपुगेपछि कोशीका सभामुख बाबुराम गौतमले पनि हस्ताक्षर गरेका थिए।

सरकार गठन गर्दा संविधान मिचिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने सरकार गठन रद्द गरी आफ्नो दलको नेतृत्वमा सरकार बनाउन परमादेश माग गर्दै शुक्रबार सर्वोच्चमा रिट दायर गरेको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement