संवादको मार्ग रोज्न आग्रह गरेपछि भारत र पाकिस्तानबीचको युद्ध रोकियो : प्रधानमन्त्री ओली

संवादको मार्ग रोज्न आग्रह गरेपछि भारत र पाकिस्तानबीचको युद्ध रोकियो : प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले संयमित व्यवहार र संवादमार्फत भारत–पाकिस्तानबीचको समस्या सुल्झाउन आग्रह गरेका छन् ।

बुद्धका सन्देशअनुसार संयम र संवादको मार्ग रोज्न आग्रह गरे पछि भारत र पाकिस्तान युद्धविरामका लागि तयार भएको प्रधानमन्त्री ओलीले दाबी गरे ।

२५६९औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस मूल समारोहलाई लुम्बिनीस्थित अन्तर्राष्ट्रिय बौद्ध सभा हलमा सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सम्भावित लडाइँबाट पन्छिएकोमा भारत र पाकिस्तानलाई धन्यवाद पनि दिए । दुई देशबीच हात हालाहालको स्थिति आए पनि युद्ध सुरु नभएको प्रति उनले सन्तोष व्यक्त गरे ।

‘केही दिन अगाडि मात्रै हाम्रै छिमेकमा अलिकति हात हालाहाल भएको थियो । तर त्यो हात हालाहाल बढ्न पाएनन् । संयमका लागि उहाँहरूलाई धन्यवाद छ । हामीले सुरुदेखि भन्यौँ, विस्तार हुन नपाओस् है यो हात हालाहालको स्थिति भनेर । लडाइँमा परिणत हुन नपाओस् भन्ने कामना गर्‍यौँ । उहाँहरूसित पनि कुरा गर्‍यौँ, नभन्दै उहाँहरूले लडाइँमा जान नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । फेरि पनि केही खसखस र आरोप प्रत्यारोपको स्थिति छ ।’

उनले लुम्बिनीलाई ‘विश्व शान्तिको केन्द्र’ र ‘ध्यान साधनाको थलो’का रूपमा अन्तर्राष्ट्रिय स्तरमा स्थापित गरिने बताए ।

प्रधानमन्त्रीले बुद्ध दर्शनको गहिरो अध्ययन, अनुसन्धान र प्रचारप्रसारका लागि स्थापना गरिएको लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशेष रूपमा उल्लेख गर्दै यस संस्थाले विश्वभर बुद्धका विचार फैलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले बृहत्तर लुम्बिनी क्षेत्रको गुरुयोजना निर्माण सम्पन्न भइसकेको जानकारी दिँदै यसको कार्यान्वयनमा सरकार दृढ रहेको उल्लेख गरे ।

‘लुम्बिनी एक धार्मिक स्थल मात्र होइन, यो शान्ति, करुणा र मानवताको प्रतीक हो। यसलाई विश्व बौद्ध तीर्थ केन्द्र बनाउने हाम्रो दायित्व हो,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले गौतम बुद्धका उपदेशहरू आजको अशान्त र द्वन्द्वग्रस्त विश्वमा अझ बढी सान्दर्भिक रहेको बताए । ‘बुद्धका शिक्षाहरू–शान्ति, सहिष्णुता, करुणा र मानवताको मुल आधार हुन्,’ उनले भने, ‘यी मूल्यहरू आत्मसात् नगरी विश्वमै शान्ति सम्भव छैन ।’

‘त्रिपिटकको पहिलो लिपि अहिले पनि लुम्बिनी संग्रहालयमा सुरक्षित छ, जुन हाम्रो ऐतिहासिक र धार्मिक सम्पदाको जीबित उदाहरण हो,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्रीको सम्बोधनपछि समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो । कार्यक्रममा संघीय तथा प्रदेश सरकारका मन्त्रीहरू, सासंदहरु , बिभिन्न देशका प्रतिनिधि , राजदूतहरू, भिक्षु, भिक्षुणी, उपासक–उपासिका, बुद्ध अनुयायीहरू तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो ।