काठमाण्डु – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष भदौ २४ गते भएको विध्वंस लोकतन्त्रमाथिको योजनाबद्ध आक्रमण भएको दाबी गरेका छन् ।
भदौ २४ को घटनाको एक वर्ष पूरा भएको अवसरमा बुधबार विज्ञप्ति जारी गरी अध्यक्ष ओलीले उक्त घटना मुलुकलाई सर्वसत्तावाद, अराजकता र भूराजनीतिक द्वन्द्वतर्फ धकेल्ने योजनाको हिस्सा भएको दाबी गरेका हुन्।
भदौ २३ गतेको नवयुवा प्रदर्शन शान्तिपूर्ण रूपमा सुरु भए पनि आपराधिक समूहले घुसपैठ गरी प्रदर्शनलाई हिंसात्मक बनाएको दाबी ओलीको छ ।
उनका अनुसार आयोजकले कार्यक्रम स्थगित गर्ने घोषणा गरेपछि पनि घुसपैठकारी समूहले युवालाई ‘मानव ढाल’ बनाएर संसद् भवनमा आक्रमण गर्न दुरुत्साहन गरेका थिए।
प्रहरीको बल प्रयोगका क्रममा १९ जना युवाको मृत्यु भएको उल्लेख गर्दै ओलीले त्यसपछिको घटनामा राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालय तथा सार्वजनिक–निजी सम्पत्तिमाथि भएको आगजनी र तोडफोड नेपालको इतिहासकै कालो अध्याय भएको उल्लेख गरेका छन्।
भदौ २४ को घटनाको गहिरो छानबिन हुनुपर्ने समेत उनको माग छ । शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो र त्यसका लागि को जिम्मेवार छन् भन्ने विषयमा यथार्थ अनुसन्धान आवश्यक रहेको उनको भनाइ छ।
उनले तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई घटनामा दोषी ठहर गर्ने प्रयास भएको भन्दै सुरक्षा निकायको भूमिकासम्बन्धी प्रतिवेदन गुपचुप राखिएको आरोप लगाएका छन्।
साथै, भदौ २४ को विध्वंसका आरोपीविरुद्ध सुरु भएका अनुसन्धान तथा अभियोजन प्रक्रिया रोकिएको भन्दै उनले आपत्ति जनाएका छन्।
ओलीले राज्यका प्रमुख संरचना र लोकतन्त्रमाथि आक्रमण हुँदा सुरक्षा निकायले त्यसलाई रोक्न नसक्नुको कारणबारे पनि प्रश्न उठाएका छन्। यो व्यावसायिक क्षमताको अभाव थियो वा निष्ठाको अभाव भन्ने प्रश्नको जवाफ खोजिनुपर्ने उनले बताएका छन्।
लोकतन्त्रमा सरकार परिवर्तनको एकमात्र वैधानिक बाटो संवैधानिक प्रक्रिया भएको उल्लेख गर्दै ओलीले हिंसा र अराजकतालाई वैधता दिन नहुनेमा जोड दिएका छन्।
‘हिंसालाई नाइँ भन्नैपर्छ’ भन्दै ओलीले राज्य दहनका अपराधीलाई दण्डित गर्न र दण्डहीनताको अन्त्य गर्नुपर्ने बताएका छन्।





प्रतिक्रिया