विष्णु र शंकरबारे ओलीको जवाफ : उनीहरू दुवैजना अध्यक्ष र सम्पादक नभएकोले बोलाउनु आवश्यक परेन

विष्णु र शंकरबारे ओलीको जवाफ : उनीहरू दुवैजना अध्यक्ष र सम्पादक नभएकोले बोलाउनु आवश्यक परेन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय भेलापछि पार्टीमा घेराबन्दी बढ्दै गएको अवस्थामा बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्पादकहरूलाई बोलाएर अन्तरक्रिया गरे ।

अन्तरक्रियाको सबैभन्दा अनौठो दृश्य के थियो भने त्यहाँ न वरिष्ठ उपाध्यक्ष विद्या भण्डारी थिइन्, न अन्य पदाधिकारीहरू नै ।

‘अध्यक्ष ओली र सम्पादकहरूबीच समसामयिक विषयमा छलफल’ शीर्षकमा आयोजना गरिएको छलफलमा महासचिव शंकर पोखरेल, उपाध्यक्ष रामबहादुर थापा बादल, अर्का उपाध्यक्ष विष्णुप्रसाद पौडेल पनि थिएनन् ।

बरू ओलीले सम्पादकहरूलाई कुरा राखिरहँदा महासचिव पोखरेल केन्द्रीय कार्यालय च्यासलमै एमालेका अन्य नेताहरूसँग चिया खाइरहेका थिए ।

ओलीको भनाइ सहितको समाचार आएका बेला महासचिव पोखरेल अर्का नेता झपट रावल र ठाकुर गैरेसहित च्यासलमा थिए । ओलीले बोलेका समाचार पढिसकेपछि च्यासलमा हाँसो छुटेको थियो ।

राष्ट्रिय भेलामा स्थायी कमिटी र पोलिटब्युरो चयन प्रक्रिया तथा प्रदेशका केही इन्चार्ज हेरफेर गर्ने योजना वरिष्ठ नेता भण्डारी, महासचिव पोखरेल एकजुट भएर असफल बनाइदिएपछि दबाबमा परेका ओली अहिले नयाँ रणनीति निर्माणमा छन् ।

त्यही क्रममा उनले बिहीबार दिउँसो सम्पादकहरूको समूहलाई नयाँबानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्स्मा बोलाए । सम्पादकहरूको ठूलो समूहलाई अगाडि राखेर उनले छलफल अघि बढाए ।

छलफलमा उपाध्यक्ष पौडेल र महासचिव पोखरेलको अनुपस्थितिबारे सम्पादकहरूले जिज्ञासा राखे । जिज्ञासा स्वभाविक थियो । किनभने ओलीको दायाँबायाँ केन्द्रीय सदस्य प्रदीप ज्ञवाली र प्रचार विभाग प्रमुख निरज आचार्य थिए ।

सम्पादकहरूले २ शीर्ष नेताहरूको अनुपस्थितिबारे सोधिएको जिज्ञासाको जवाफ उनले रोचक शैलीमा दिए । उनले उनीहरू दुवैजना अध्यक्ष र सम्पादकको हैसियतमा बोल्न नपाउने भएपछि नआएको भन्ने जवाफ दिए, ‘उनीहरू न सम्पादक, न त पार्टी अध्यक्ष, दुवै हैसियतमा बोल्न नपाउने भएपछि नआएका हुन सक्छन् ।’

ओलीले अन्य नेताहरू हलमा हुँदाहुँदै २ जना नेतालाई मात्रै खोजिएको भनेर सम्पादकहरूसँग रोष प्रकट गरे । आफूनिकट नेताहरू साथमा हुँदा पनि नामै तोकेर २ नेता खोज्नु पार्टीको अन्तरविरोधमा झन् खेल्न खोजिएको रूपमा ओलीले व्याख्या गरे ।  

ओलीको जवाफले एमालेभित्र पछिल्लो समय चलेको अन्तरसंघर्षलाई अभिव्यक्त गरेको छ । एघारौं महाधिवेशनमा ओलीलाई जिताउन जोडतोडले लागेका पोखरेल र पौडेल अहिले उनीसँग छैनन् । उनीहरू अब ओलीले बिदा हुनुपर्ने पक्षमा छन् । पौडेल र पोखरेल दुवै अहिले वरिष्ठ नेत्री भण्डारीसँग नजिक छन् ।

‘उनीहरू अहिले ओलीलाई उपयुुक्त समय र मौका पारेर बिदा गर्ने पक्षमा छन्,’ एमालेका एक शीर्ष नेताले भने, ‘राष्ट्रिय भेलामा ओलीका एजेन्डा असफल बनाउन पनि वरिष्ठ नेतासँग मोर्चाबन्दी भएको थियो ।’

ओलीले आफूलाई बिदा गर्न खोजेको भन्दै यसअघि नै महासचिव पोखरेलको कुर्सी आफ्नो आसन जोडिएको ठाउँबाट हटाइसकेका छन् । अहिले पोखरेलको वरीयता पनि आठौं स्थानमा धकेलिएको छ ।