मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ: प्रधानमन्त्री ओली


काठमाडौं – केही दिनदेखि अस्वस्थ भएर उपचाररत प्रधानमन्त्री केपी शर्मा ओली सक्रिय हुन थालेका छन् । गत मंगलबार एपेन्डिसाइटिसको अपरेसन गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ ।

शल्यक्रियापछि प्रधानमन्त्री ओली सामाजिक सञ्जालतर्फ पनि सक्रिय हुन थालेका छन् । उनले आफूलाई सामाजिक सञ्जालबाट शुभकामना दिनेहरुलाई धन्यवाद भन्न थालेका छन् । प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई पनि धन्यवाद भनेका छन् ।

प्रवक्ता शर्माले प्रधानमन्त्रीको स्वास्थ्यबारे सबैले कामना गर्नुपर्ने बताउँदै स्वास्थ्यलाभको कामना गरेका थिए । त्यस्तै प्रधानमन्त्रीले स्वास्थ्य लाभको कामना गर्ने सम्पूर्णमा एकुमष्ट धन्यवाद दिएका छन् ।

उनले आफ्नो स्वास्थ्यमा तीव्र रुपमा सुधार भइरहेको बताएका छन् । ‘बितेका दुई दिनयता म एपेन्डिसाइटिसको शल्यक्रिया गरी स्वास्थ्योपचार गराइरहेको छु । यतिबेला मेरो स्वास्थ्य तीब्र गतिमा सुधार भइरहेको छ’, उनले भनेका छन्, ‘स्वास्थ्यस्थिति बारे चासो राख्नुहुने, शुभेच्छा प्रकट गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’

एपेन्डिक्समा जमेको पिप फुटेर पेटमा संक्रमण भएपछि प्रम ओली गम्भीर विरामी परेका थिए ।  त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार अपरेसन गरिएपछि प्रम ओलीलाई भेन्टिलेटर राखिएको थियो ।

तर बुधबार बिहानसम्म स्वास्थ्यमा राम्रो सुधार आएपछि प्रमलाई भेन्टिलेटरबाट हटाएर सघन उपचार कक्ष (आईसीयु) मा उपचार भइरहेको छ । हाल उनी हिँड्न र केही झोलिलो खानेकुरा खान सक्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement