माधव नेपालप्रति ओलीको व्यंग्य : पिलो निचोर्दैमा शरीरको तौल घट्दैन


बुटवल – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले अघिल्लो सरकारको पालामा भएका विकास निर्माणलाई सिध्याउन खोजेको आरोप लगाएका छन् ।

सरकार आफूले पनि केही गर्न नसकेको र अरूले गरेका कामलाई पनि देख्न नसकेर ध्वस्त पार्न उद्यत रहेको उनको आरोप छ । उनले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई बुख्याँचाको संज्ञा दिएका छन् ।

पार्टीको रूपन्देही जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई बुधबार बुटवलमा सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘हाम्रो सरकारका पालामा प्रत्येक पालिका जोड्ने २०० भन्दा बढी रणनीतिक महत्त्वका सडक एकैसाथ शिलान्यास ग¥यौँ तर अहिलेको सरकारले भत्काइदियो, भूमिहीन आयोग खारेज ग¥यो । यो सरकार काम गर्नका लागि होइन, भत्काउनका लागि बनेको हो ।’

आफू नेतृत्वको अघिल्लो सरकारले सडक, अस्पताल जस्ता पूर्वाधार अगाडि बढाएकाले त्यो सहन नसकेर प्रतिक्रियावादीहरूले सरकार ढालेको ओलीको आरोप छ । अब १४ महिना पार्टी प्रतिपक्षमा रहेर जनताका बीचमा जाने र अर्को निर्वाचनबाट पुनः सत्तामा फर्किने भन्दै ओलीले कार्यकर्तालाई आश्वस्त पारेका थिए ।

उनले पार्टीबाट अलग्गिएको माधव नेपाल नेतृत्व नेकपा एकीकृत समाजवादीलाई पिलोको संज्ञा दिएका छन् । ’पिलो निचोर्दैमा शरीरको वजन घट्दैन । माधव नेपाललगायत केही व्यक्तिले पार्टी छाड्दैमा एमालेलाई घाटा हुँदैन’, उनले भने ।

माधव नेपालले एमालेमा रहँदा जनविरोधी र अपराधपूर्ण काम गरेको आरोप लगाउँदै ओलीले उनलाई कमरेड भन्न नसकिने बताए । ’पार्टीलाई ध्वस्त बनाउन खोज्नेलाई कमरेड भन्न सकिँदैन । उनी जनविरोधी हुन् । पार्टी नेतृत्वको सरकार रहँदा उनले समर्थनमा एक शब्द पनि बोलेनन’, ओलीले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement