भारतले नेपाली भूमि फिर्ता गर्नुपर्छ : अध्यक्ष ओली


काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले नेपाली भूमि फिर्ता गर्नुपर्ने बताएका छन् । सोमबार सिन्धुपाल्चोकका माओवादी नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै अध्यक्ष ओलीले नेपाली भूमि ६० वर्ष अगाडिदेखि भारतले कब्जा गरेको बताएका हुन् ।

उनले आफू नेतृत्वको सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई समेटेर नेपालले जारी गरेको नक्सा भारतलाई मन नपरेको दावी गरे । ‘म सुन्छु, म सरकारमा हुँदा नयाँ नक्सा जारी गरेको र नेपाली भूमि फिर्ता गर्न पत्राचार गरेको भारतलाई मन परेको छैन रे । भारतलाई मन पर्छ कि पर्दैन होइन, मन पर्नुपर्छ । जमिन फिर्ता गर्नुपर्छ ।’, अध्यक्ष ओलीले भने ।

उनले हालको सरकारले नेपाली भूमि फिर्ता गर्न भारतलाई पत्राचार नगरेको भन्दै गुनासो गरे । अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नामै लिएर सो भूमि नेपालीको हो भनेर बोल्न नसकेको दावी गरेका छन् ।

त्यस्तै उनले हालै मात्र भारत भ्रमणमा गएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि नक्साबारे कुरा नगरेको बताएका छन् । ‘महान क्रान्तिकारी भन्ने प्रचण्डजी लिम्पियाधुरा ,कालापानी कसको हो भन्नुस् ?’, अध्यक्ष ओलीले प्रश्न गर्दै भने ।
अध्यक्ष ओलीले सत्तारूढ दलका नेताहरु आफ्ना छोरीबुहारी, श्रीमती, साला, आफन्तहरुलाई मात्रै माथि उठाउने काममा केन्द्रित भईरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement