ओलीको प्रश्न : सरकारको उपलब्धि १०० किलो सुन चोर्ने भएको छ, यस्तो पनि सरकार हुन्छ ?


बुटवल – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले भ्रष्टाचारविरूद्ध अभियान होइन, भ्रष्टाचार अभियान चालेको आरोप लगाएका छन् ।

बुटवलमा आयोजित नेकपा एमाले लुम्बिनी प्रदेश अधिवेशनको उद्घाटन सत्रलाई शनिबार सम्बोधन गर्दै ओलीले भने, ‘भन्सारबाट सुन आउने, कर नतिर्ने, पक्रिएको सुन हराउने । कतिसम्म लाजमर्दो काम गरेको हो । अहिले सरकारले भ्रष्टाचारविरूद्ध अभियान होइन, भ्रष्टाचार अभियान चालेको हो ।’

उनले एमाले सरकारका लागि मात्रै केन्द्रित नभएको बताए । मुलुकबाट गरीबी उन्मुलन गर्दै समृद्ध नेपाली बनाउने अभियान लिएर एमालेले हिँडेको भन्दै चुनावदेखि चुनाव र सरकार मात्रै नताक्ने उनले बताए । ‘एमाले जतिबेला सरकारमा जान्छ, जनताका पक्षमा काम गर्छ,’ उनले भने ।

२०५१ सालको सरकारदेखि एमालेले नेतृत्वको पछिल्लो सरकारले देश विकासमा महत्त्वपूर्ण कार्य गरेको भन्दै उनले त्यस्ता सरकारलाई गिराउन प्रतिक्रियावादीहरू सक्रिय रहेको बताए । ‘नेपालको नक्सा सच्याउने, विप्लप र सीके राउतलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने काम हामीले गरेका हौं । अहिलेको सरकारको उपलब्धि १०० किलो सुन चोर्ने भएको छ । यस्तो पनि सरकार हुन्छ ?’

नेपाल अब पछाडि परिराख्न नहुने बताउँदै उनले प्राकृतिक स्रोत, खनिजको उपयोग बढाई युवाहरूलाई स्वदेशमै रोजगारीमा लगाउनुपर्ने बताए । अहिलेको सरकार तस्करमा केन्द्रिकृत रहेको भन्दै राजस्व झन् घट्दै जाने अध्यक्ष ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement