प्रदेश अधिवेशनमा उच्चस्तरीय सहमति खोज्नुस्, भोलि म नाम वाचन गरेर जानेछु : अध्यक्ष ओली


बुटवल – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको लुम्बिनी प्रदेश अधिवेशनबाट नेतृत्व चयनका लागि उच्चस्तरीय सहमति खोज्न निर्देशन दिएका छन् ।

शनिबार प्रदेश अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले प्रदेशमा सकेसम्म उच्चस्तरीय सहमति गर्न निर्देशन दिए ।

पार्टीको केन्द्रीय पदाधिकारीमा लुम्बिनीबाट धेरै पदाधिकारी रहेकाले सहमतिको सन्देश दिनुपर्ने उनको इच्छा छ । ‘हामी विरोधीसँग लड्नुपर्नेछ, पार्टीभित्र एकता गर्न नेताहरू प्रतिबद्ध हुनुहुन्छ, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलका भनाइ सुनेको छु,’ ओलीले भने, ‘१९ जना पदाधिकारीमा लुम्बिनीबाट ७ जना हुनुहुन्छ, यस्तो ठाउँमा सहमतिमा नेतृत्व चयन हुन्छ ।’

लुम्बिनीको अधिवेशनबाट सिंगो देशवासी र पार्टी कमिटीलाई नयाँ सन्देश दिनुपर्ने उनले बताए । ओलीले भने, ‘शंकरजी हिडिसक्नुभयो, युवराजजी आउनुभएको छैन, यहाँ रहनुभएका विष्णुजी, प्रदीपजी लगायतका नेताले बसेर टुंगो लगाउनुस्, भोलि बिहान म नाम वाचन गरेर जानेछु ।’

कसैको आशिर्वाद भएर नेतृत्वमा पुग्न नसकिने बताउँदै उनले आफ्नो क्षमताको बलमा नेतृत्व स्थापित गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement