अझै २० वर्ष सक्रिय रहन्छु, बाँचुञ्जेल पद नछोड्न प्रवृत्ति तोड्छु : केपी ओली


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू अझै २० वर्ष सक्रिय रहने भए पनि नेतृत्व हस्तान्तरण गर्ने बताएका छन् ।

आज शनिबार भक्तपुरमा विद्यार्थीसँगको कार्यक्रममा अध्यक्ष ओलीले आफू सक्रिय रहँदै योग्य व्यक्तिलाई नेतृत्व सुम्पिएर देश चलाउन सहयोग गर्ने बताए ।

विद्यार्थीले सोधेको प्रश्नमा ओलीले भने, ‘अझै २० वर्ष सक्रिय राजनीतिमा रहने विचार गरेको छु । २० वर्ष सक्रिय रहनुको मतलब २० वर्ष नै देश र पार्टीको नेतृत्व गर्छु भनेको होइन । नेतृत्वमा रहेकाहरूलाई सहयोग गर्छु सक्रिय रहेर ।’

अध्यक्ष ओलीले बाँचुञ्जेल पद नछोड्न प्रवृत्तिलाई तोड्ने बताए । उनले भने, ‘आवश्यकता होस् कि नहोस्, काम गर्न सकोस् कि नसकोस्, स्मरण शक्ति होस् कि नहोस्, बोल्न सकोस् कि नसकोस्, तर पनि पदमा बसिरहन चाहने प्रवृत्ति छ । त्यो प्रवृत्तिलाई तोड्न चाहन्छु ।’

अध्यक्ष ओलीले आफू केही समय अलि बिरामी भए पनि अब ठीक भएको बताए । उनले भने, ‘धेरैपल्ट अपरेसन गर्नुपर्‍यो । २ पटक किड्नी ट्रान्सप्लान्ट गर्नुपर्‍यो । अहिले ट्रान्सप्लान्ट गरेको किड्नीले धेरै राम्ररी काम गरिरहेको छ । कुनै समस्या छैन ।’

प्रतिक्रिया दिनुहोस
Advertisement