हिंसा दिवस र शान्ति प्रक्रिया सँगसँगै जान सक्दैन : अध्यक्ष ओली


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा दिवस र शान्ति प्रक्रिया सँगसँगै जान नसक्ने बताएका छन् ।

शुक्रबार पार्टीको केन्द्रीय अर्थ तथा योजना विभागले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले सरकारले अपराधजन्य घटना नियन्त्रण गर्नुपर्ने बताए ।

उनले सरकारको ध्यान शान्ति प्रक्रियालाई टुंग्याउनेभन्दा हिंसालाई प्रोत्साहन गर्नेतिर केन्द्रित रहेको आरोप लगाए । फागुन १ गते माओवादी विद्रोह सुरू भएको दिनलाई सार्वजनिक बिदा दिने सरकारको निर्णय उचित नरहेको उनले बताए ।

सरकारले हिंसालाई उत्सवको रूपमा मनाएर शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने उल्टो बाटो हिँडिरहेको उनले बताए । ओलीले सरकारको ध्यान गरीबी निवारण, मुलुकको विकास र समृद्धितिर नभएको बताए ।

उनले भने, ‘हिंसा दिवस र शान्ति प्रक्रिया सँगसँगै जान नसक्ने हो । एउटाको घाउमा नुनचुक छर्किएर, पीडितमाथि न्याय होइन अन्याय र अपमान हुन्छ । सरकारले राजनीतिको अपराधिकरण र अपराधको राजनीतिकरण गरिराखेको छ ।’

अध्यक्ष ओलीले सरकारले अपराधजन्य काममा लाग्न नहुने बताउँदै मुलुकमा शान्ति व्यवस्था कायम गर्न कानूनको पूर्ण कार्यान्वयन हुनुपर्ने बताए । सरकारको ध्यान मुलुक बनाउनुभन्दा सत्ता बचाउनमा मात्र केन्द्रित रहेको उनको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement