कांग्रेससँग ८७ सिट छ तर ३२ सिटेको पछाडि लुरूलुरू लागेको छ : अध्यक्ष ओली


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस साह्रो पुरानो र थोत्रो भएको टिप्पणी गरेका छन् ।

पार्टी कार्यालय च्यासलमा बिहीबार शिवचन्द्र कुशवाहा सहितलाई पार्टी प्रवेश गराउँदै कांग्रेस ३२ सिटेका पछाडि लागेको बताएका हुन् ।

‘कांग्रेस साह्रो पुरानो भयो, साँच्चै थोत्रो भयो । केही पनि गर्न नसक्ने । उसँग ८७ सिट छ तर ३२ सिटेको पछाडि लुरूलुरू लागेको छ,’ उनले भने ।

उनले उमेरमा हजुरबुवा बलियो, काम पनि गर्न सक्ने भए पनि बूढो भएपछि नातिका पछाडि लाग्नुपर्ने भएजस्तै कांग्रेसको अवस्था देखिएको बताए ।

‘उहिले होला, हजुरबुवा बलियो काम पनि गर्नुहुन्थ्यो होला, बूढो भएपछि नातिका पछाडि पनि हिँड्नुपरेको छ नि ! त्यस्तै भएको छ कांग्रेसलाई । निरीह भएको छ, केही पनि गर्न नसक्ने भएको छ कांग्रेस । आफूसँग कति सिट छ भनेर पनि चाल नपाउने भएको छ कांग्रेस, त्यति पनि चाल पाउँदैन,’ उनले व्यंग्य गर्दै भने ।

उनले थपे, ‘माधवकुमार नेपालले भन्नु त ठीकै हो । राति मैले पढेको थिएँ । जेसुकै गल्ती गरे पनि कांग्रेस विनाको सरकार सोच्न सकिँदैन । कांग्रेस त हुनैपर्छ । हामी कांग्रेसका पछाडि लाग्छौं । हामी कांग्रेसकै पछि लाग्न हिँडेका हौं भनेका रहेछन् । माधवकुमार नेपाललाई त यसो भन्न सुहाउँछ । १० वटा सिट छ । ३२ सिट, ८७ सिट हुनेका पछाडि लाग्नु त स्वाभाविकै हो,’ उनले भने ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले नराम्रोबाहेक केही नगरेको उनले बताए । उनले भने, ‘माओवादीका नेता–कार्यकर्तासँग मेरो भेट हुन्छ । पीडा पोख्छन् । मजदुरले बाटो बनायो, मोटर अर्कैले मोटर कुदायो भनेजस्तो भएको छ । अहिले छोरी–ज्वाइँ, अर्का छोरी ज्वाइँ, भाइ–भतिजा सप्रिएका छन् । माओवादीका तमाम पार्टी कार्यकर्ता पीडित छन्, तड्एिका छन्, दुःख पाएका छन् । तिनको बलिदान, तिनको त्याग सम्झिन पनि फुर्सद छैन सत्तासिनहरूलाई । यिनीहरूसँग देश बनाउने कुनै नीति छैन ।’

प्रतिक्रिया दिनुहोस
Advertisement