शान्ति प्रक्रिया सहमतिका साथ पीडितलाई केन्द्रमा राखेर टुंग्याउनुपर्छ : अध्यक्ष ओली


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पीडितलाई केन्द्रमा राखेर शान्ति प्रक्रिया टुंग्याउनुपर्ने बताएका छन् ।

पार्टी कार्यालय च्यासलमा आयोजित चियापान समारोहपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले शान्ति प्रक्रिया टुंग्याउन एमाले तयार रहेको बताए ।

सहमतिकै आधारमा अदालतको आदेशलाई सम्मान गर्दै संक्रमणकालीन न्याय सम्बन्धी मुद्दा सम्बोधन हुनुपर्ने उनले बताए । ‘शान्ति प्रक्रिया टुंग्याउनुपर्छ, सहमतिका साथ टुंग्याउनुपर्छ । पीडितलाई केन्द्रमा राखेर टुंग्याउनुपर्छ । सर्वोच्च अदालतको आदेशलाई सम्मान गर्दै टुंग्याउनुपर्छ । अन्तर्राष्ट्रिय समुदायले भनेको कुरालाई पनि ख्याल राख्नुपर्छ,’ उनले भने ।

शान्ति प्रक्रियालाई टुंग्याउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच छलफल भएको छ ।

उनले भने, ‘आज मात्रै हाम्रो छलफल भएको छ । अघि पनि उहाँ आउनुभएको थियो । हाम्रो चेहेरा देख्नुभयो होला ? हाम्रो हाउभाउ देख्नुभयो होला ? हामी मुस्कुराएको, खुशी भएको देख्नुभयो होला ? राम्रै लक्ष्ण छ नि !’

प्रतिक्रिया दिनुहोस
Advertisement