देशमा मनपरीतन्त्र चलिरहेको छ : अध्यक्ष ओली


सुर्खेत – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा मनपरीतन्त्र चलिरहेको आरोप लगाएका छन् ।

बैतडीको झुलाघाटदेखि मध्यपहाडी लोकमार्ग हुँदै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पुगेका अध्यक्ष ओलीले अहिले अपवित्र गठबन्धनको सरकारका कारण देशको राष्ट्रियता कमजोर भएको, देशको स्वतन्त्रता कमजोर भएको र सीमा रक्षामा पनि चुकेको बताए ।

चालू आर्थिक वर्षको पहिलो ४ महिनामै १२ प्रतिशत ब्याज दरमा जनतासँग आन्तरिक ऋण लिएर कर्मचारी पाल्नुपर्ने, ऋण काढेर देश चलाउनुपर्ने नाजुक अवस्थामा देश पुगेको उल्लेख गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘देश अहिले इतिहासमै कमजोर अवस्थामा पुगेको छ । देशलाई भ्रष्टाचार, घुसखोरी, कमिसनतन्त्रको जालोले छोपेको छ । देशको सामाजिक अवस्था निकै डरलाग्दो भएर अघि बढ्दैछ तर सरकार कानमा तेल हालेर बसेको छ । यो अवस्था गठबन्धन सरकारले ल्याएको हो ।’

देशको अवस्थाबारे हामीलाई मात्रै नभएर सबै राजनीतिक दल र जनतालाई पनि चिन्ता हुनुपर्ने हो तर सरकारमा सहभागी दल कानमा तेल हालेर बसेको आरोप उनले लगाए । अध्यक्ष ओलीले सत्ता गठबन्धन दलहरूले देशमा विभाजन र बिखण्डनको बिउ रोपेको आरोप लगाए ।

उनले देशको स्वाभिमान, देशको अस्तित्व रक्षा र समृद्धिका लागि, भ्रष्टाचार र घुसखोरी अन्त्यका लागि एमालेको नेतृत्व आवश्यक रहेको बताए ।

पछिल्लो समय ठूला राजनीतिक दलहरूलाई पुराना दलको संज्ञा दिएकोप्रति इङ्गित गर्दै उनले पार्टीको नीति, विचार र कार्यक्रमका आधारमा मात्रै राजनीतिक दल नयाँ र पुरानो हुने बताए ।

‘कुनै पनि दल वर्षले पुरानो हुने होइन, नीति र विचारले पुरानो हुने हो । कांग्रेस पार्टी पुरानो भयो, अहिलेको सरकार पुरानो भयो । कुनै नीति, भिजन र उद्देश्यविहीन सरकार १ वर्षमै धेरै पुरानो भइसक्यो,’ प्रतिप्रश्न गर्दै उनले थपे, ‘एमालेलाई पुरानो भयो भन्ने को हो ? हाम्रो पार्टीलाई कसले पुरानो भयो भन्छ ? हामीसँग देशको रूपान्तरण गर्ने, नीति, उद्देश्य, कार्यक्रम, अभियान नयाँ छ, गतिशील छ । त्यसैले एमाले पुरानो दल होइन, बरु एमालेलाई पुरानो देख्ने नजर पुरानो हो ।’

प्रतिक्रिया दिनुहोस
Advertisement