ओलीलाई नियन्त्रणमा राख्न ‘विद्या रणनीति’

ओलीलाई नियन्त्रणमा राख्न ‘विद्या रणनीति’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – केही वर्षअघिसम्म नेकपा (एमाले) का दोस्रो तहका केही प्रमुख नेताहरू पार्टीको भावी नेतृत्वका रूपमा प्रस्तुत गरिन्थे ।

हालका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू विष्णु पौडेल र सुरेन्द्र पाण्डे तथा महासचिव शंकर पोखरेललाई भावी अध्यक्षका सम्भावित दाबेदारका रूपमा हेरिन्थ्यो ।

तर पछिल्लो समय ती नेताहरूले भविष्यको नेतृत्वबारे बोल्न थालेका छन्, तर उनीहरूले आफ्नै लागि समर्थन मागेका होइनन्, उनीहरूले हालका अध्यक्ष केपी शर्मा ओलीलाई दोहोर्‍याउने वा शनिबार औपचारिक रूपमा एमालेमा पुनः प्रवेशको घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई अघि सार्ने प्रयासमा छन् ।

चार पटक प्रधानमन्त्री भइसकेका ओली २०२१ नोभेम्बरदेखि दोस्रो कार्यकालका लागि अध्यक्ष छन् । भण्डारी भने सात वर्षको दुई कार्यकाल राष्ट्रपति भएर अब आफ्नो पुरानो पार्टीमा फर्किएकी हुन् ।

पछिल्लो दशकमा एमालेको भावी नेतृत्वबारे धेरै अनुमानहरू लगाइदैँ आइएको छ ।

२०७४ मा एमाले र माओवादी केन्द्र एकीकृत भई नेपाल कम्युनिस्ट पार्टी बनेपछि विष्णु पौडेललाई महासचिव बनाइएको थियो । त्योबेला उनी ओलीको उत्तराधिकारीका रूपमा व्यापक रूपमा हेरिएका थिए ।

चितवनमा पार्टीको १० औं महाधिवेशनमा शंकर पोखरेल सर्वसम्मत महासचिव निर्वाचित भएपछि उनी पनि ओलीको सम्भावित उत्तराधिकारीका रूपमा हेरिए ।

पौडेल र पोखरेलका अतिरिक्त सुरेन्द्र पाण्डेलाई पनि भावी नेतृत्वका रूपमा लिइएको थियो । २०७३ को महाधिवेशनमा ईश्वर पोखरेलसँग अत्यन्त न्यून अन्तरले महासचिवको चुनाव हारेका पाण्डे पार्टीको लोकप्रिय नेताका रूपमा देखिएका थिए । उनी अर्थमन्त्रीसमेत रहेका छन् र एमालेका सीमित आर्थिक जानकार नेताहरूमा गनिन्छन् ।

तर माधवकुमार नेपालले २०७८ मा पार्टी फुटाएर नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि पाण्डेको एमाले भित्रको प्रभाव घट्दै गयो, किनकि उनी नेपाल पक्षसँग नजिक थिए ।

२०७२ को महाधिवेशनमा पाण्डे नेपाल समूहबाट र पोखरेल ओली समूहबाट उम्मेदवार बनेका थिए । अहिले भने पार्टीभित्र प्रभाव विस्तारको दृष्टिले पौडेल र पोखरेलले पाण्डेलाई पछि पारिसकेका छन् ।

एमालेभित्र दुई कार्यकालको सीमा र ७० वर्षे उमेर सीमा सम्बन्धी छलफल जारी छ । जनकपुरमा भएको सातौं महाधिवेशनले पार्टीमा लोकतान्त्रिकरणको पक्षमा आवाज उठाएको थियो भने बुटबलको आठौं महाधिवेशनले नेतृत्वमा दुई कार्यकालको सीमा तोकेको थियो ।

त्यस्तै काठमाण्डुमा भएको नवौं महाधिवेशनले ७० वर्ष नाघेपछि कार्यकारी भूमिकामा रहन नपाउने व्यवस्था ल्याएको थियो । यदि यो नियम लागू भयो भने अध्यक्ष ओलीसहित धेरै पदाधिकारीहरू स्वतः पदमुक्त हुनेछन् । तर यी प्रावधानहरू अहिलेसम्म लागू गरिएका छैनन् ।

भण्डारीनिकट नेताहरूले आउँदो २०८२ साउन २०–२२ मा गोदावरी, ललितपुरमा हुने विधान महाधिवेशनमा ती प्रावधान कार्यान्वयन गराउन दबाब दिइरहेका छन् भने ओली पक्षले तिनलाई हटाउन चाहन्छ । यसले विधान महाधिवेशनलाई अत्यन्त निर्णायक बनाउनेछ ।

तर दोस्रो तहका नेताहरूलाई अगाडि बढाउने सट्टा किन पार्टीले पूर्वराष्ट्रपति भण्डारीलाई बोलाउनु पर्‍यो ? यसबारे अहिले पार्टी भित्र र बाहिर विभिन्न ढंगले समीक्षा भइरहेको छ ।

ओलीले दोस्रो तहका नेताहरूलाई अघि बढ्न नदिने स्पष्ट भएपछि, पार्टीभित्रैबाट ओलीकै हैसियतसँग मेल खाने गरी भण्डारी फिट भएकी हुन् । किनभने भण्डारी बाहेक अहिले ओलीको वैकल्पिक नेतृत्व बन्न सक्ने कोही छैन ।

पार्टीको उपाध्यक्ष र दुई पटक राष्ट्रपति भइसकेकी व्यक्ति सक्रिय राजनीतिमा फर्किँदा त्यसले स्वाभाविक रूपमा पार्टी अध्यक्ष बन्ने अभिलाषा देखाउने विश्लेषकहरूको भनाइ छ । भण्डारी दुई पटक राष्ट्रपति भएकी हुन् । उनी अहिले ६४ वर्षकी छन् ।

‘भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन पार्टीका वर्तमान उपाध्यक्षहरूले नै प्रोत्साहित गरेका थिए’, भण्डारी निकट एक नेताले भने ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सार्वजनिक रूपमा भण्डारीको समर्थन गरेका छन् । शनिबार मदन भण्डारीको ७४ औं जन्मजयन्तीको कार्यक्रममा उनले विद्या भण्डारीको सक्रिय राजनीतिमा फर्काइको स्वागत गर्दै वर्तमान नेतृत्वको आलोचना समेत गरेका थिए ।

अब पार्टीका केही नेता तथा कार्यकर्ताहरू उनलाई ११ औं महाधिवेशनमार्फत अध्यक्ष बनाउन लागिपरेका छन् । भण्डारीले सक्रिय राजनीतिमा फर्किएको घोषणा गरे पनि उनले अहिलेसम्म आफू अध्यक्ष बन्ने स्पष्ट घोषणा गरेकी छैनन् । तर उनका निकट नेताहरूले भने उनी त्यसका लागि तयारी गरिरहेको बताइरहेका छन् ।

पार्टीभित्रका कतिपय नेताहरूका अनुसार दोस्रो तहका नेताहरूमा पारस्परिक स्वीकार्यता नहुँदा भण्डारीको पुनः प्रवेश आवश्यक भयो ।

माधव नेपाल र अन्य आलोचकहरूको पार्टीबाट बहिर्गमनपछि ओलीको प्रभावमा रोक लगाउने कोही बाँकी रहेनन् । यद्यपि ओलीको नेतृत्वमा प्रश्न उठ्ने निर्णयहरू भए पनि आकांक्षी नेताहरूले उनलाई चुनौती दिन सकेनन् ।

फलस्वरूप स्थानीय तहका कार्यकर्ताहरूले अब ती दोस्रो तहका नेताहरूमा विश्वास राख्न छोडेका छन् । ‘जब दोस्रो र तेस्रो तहका नेताहरू ओलीको विरुद्ध उभिन सकेनन्, तब भण्डारीलाई फर्काउनुको विकल्प रहेन,’ एक नेताले भने ।

राजनीतिक विश्लेषक झलक सुवेदी दोस्रो तहका नेताहरूले आफ्नै असमर्थताका कारण भण्डारीलाई अघि सारेको टिप्पणी गर्छन् । उनले भण्डारीलाई एक प्रकारको संक्रमणकालीन व्यवस्थाका रूपमा अघि सारिएको बताए । यद्यपि, पार्टी उपाध्यक्ष युवराज ज्ञवालीका अनुसार भण्डारीले अहिलेसम्म कुनै पद लिने इच्छा व्यक्त गरेकी छैनन्, उनले केवल सक्रिय राजनीतिमा रहने भनेकी छन् ।

ज्ञवालीले पार्टीको नेतृत्वबारे अहिले बहस गर्नु चाँडो हुने बताउँदै साउनमा हुने विधान महाधिवेशनले पार्टीको नेतृत्वका लागि दिशा दिने बताउँछन् ।